Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

लोक संस्कृति जोगाउँदै राजवंशी समुदाय

उद्‌घोष सम्वाददाता
१३ मंसिर २०८०, बुधवार

झापा, १२ मङ्सिर : राजबंशी समुदायमा लोप हुन लागेको लोक सांस्कृति ‘रंग पाचाली गाउन’को जगेर्ना गर्ने उद्देश्यले झापाको मेचीनगर–१३ मा सांस्कृतिक कार्यक्रम सुरू भएको छ ।
तेलिबारी राजबंशी समुदायको आयोजनामा सोमबार साँझदेखि दुईदिने ‘रंग पाचाली गाउन’ अन्तरगत संगीतमय नाटक सुरू भएको हो ।

विशेष गरेर राजबंशी समुदायका नारीलाई लक्षित गरेर समाजमा त्यसको असरबारे गीत, नृत्य र नाटकबाट व्यङ्ग्य गर्दै नराम्रो संगतमा लागेकालाई सुधार गर्ने कार्यक्रमको रूपमा लिइन्छ ।

तर, मेचीनगरमा रहेका राजबंशी समुदायभित्र विभिन्न समस्याका कारण ३३ वर्षयता रंग पाचाली गाउनको आयोजना गर्न छोडेका थिए । त्यसअघि बर्सेनि यसखाले सांस्कृतिक कार्यक्रम गर्दै आए पनि पछिल्लो समयमा कलाकार र उपयुक्त वातावरणको अभाव हुँदा राजबंशी समुदायभित्रका नयाँ पुस्ताले यस किसिमको सन्देशमूलक कार्यक्रम हेर्न र महसुस गर्नसमेत पाएका थिएनन् ।

कलिजुगेर नारी, भातार थाकिते आरी–कलियुगमा महिलाले सिंदुर नलागाउने, अर्काको श्रीमानलाई नजिक बनाउने, श्रीमान् हुँदाहुँदै अर्काको बुढासँगै हिड्ने महिलालाई व्यंङ्ग्य गरेको कथाबस्तुसहितको संगीतमय नाटक प्रस्तुत गरिएको थियो ।

कलियुगमा महिलालाई नराम्रो काममा नहिड्न उपदेशसहितको नाटक राजबंशी समुदायका लागि सन्देशमूलक रहेको आयोजक समितिका संयोजक अर्जुन राजबंशीले बताए ।

पहिले पहिले बर्सेनि रूपमा सन्देशमूलक कार्यक्रम गर्दै आए पनि समुदायभित्र युवा पुस्तामा रोजगारी ब्यस्तता र वैदेशिक रोजगारीका क्रममा बिदेश पलायनकै कारण कार्यक्रम गर्न नसकिएको समाजसेबी सर्त राजबंशीले बताए ।

हाल कलाकारको अभावले नै नयाँ पुस्तामा यस किसिमको सन्देशमूलक कार्यक्रम गर्न नसकिएको राजबंशी समाज विकास समितिका पूर्वअध्यक्ष पर्शुराम राजबंशीले जानकारी दिए ।

स्थानीय कलाकार पलायनकै कारण सोमबार साँझको कार्यक्रमका लागि भारतको इस्लापुर थुक्राबारीबाट २२ जना कलाकार ४२ हजार पारिश्रमिक दिएर ल्याएको अर्जुन राजबंशीको भनाइ छ ।

झापामा ७० हजारबढी र झापा, मोरङ र सुनसरीमा २ लाखबढी राजबंशी समुदाय रहे पनि समुदायभित्रकै संस्कृतिलाई जगेर्ना गर्न स्थानीय सरकारको फहलमा कार्यक्रम आयोजना गरेको मेचीनगर–१३ का अध्यक्ष कृष्णराज सिग्देलले बताए ।

सन्देशमूलक सांस्कृतिक कार्यत्रमअघि अर्जुन राजबंशीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष कृष्णराज सिग्देल, वडा सदस्य रीता परियार, टेकेन्द्र ढकाल, पर्शुराम राजबंशी, मनोरथ राजबंशीलगायतले बोलेका थिए ।

View : 199

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved