फाइल फोटो ।
विराटनगर । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाएको छ । प्रसाई सोमवार राति आफनै घरबाट पक्राउ परेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति मागेको थियो ।
मुलुकी अपराध संहिताले सार्वजनिक शान्तिसँग सम्बन्धित अभियोगमा सुनुवाइ गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
मुलुकी फौजदारी कार्यविधिले प्रमुख जिल्ला अधिकारीलाई दिएको अधिकारअनुसार सार्वजनिक शान्तिविरुद्धका गतिविधिमा प्रमुख जिल्ला अधिकारीले एक वर्षसम्म कैद तोक्न वा १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छन् ।
पछिल्लो समय कार्कीले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालसहित जेन जी प्रदर्शनको बलमा बनेको सरकारमा रहेका व्यक्तिहरूविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका थिए ।
उनले संविधान संशोधन गरेर हिन्दू राष्ट्र पुनस्र्थापना हुनुपर्ने सहितका माग राखेर देशव्यापी हडतालको समेत आह्वान गरेका थिए ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार पछिल्लो सुरक्षा समितिको बैठकमा सुरक्षा व्यवस्थाका चुनौतीबारे छलफल भएको थियो ।
शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप नगर्ने तर शान्ति बिथोल्ने गतिविधि भए सुरक्षा निकायले तत्कालै कारबाही चाल्ने काफ्ले बताउँछन् ।
प्रसाईको समर्थनमा हालै नागरिक बचाऊ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत परेको छ ।
उक्त दलको कुनै पनि समितिमा प्रसाई भने देखिएका छैनन् । तर दलका सभापति माधव खतिवडाले प्रसाईकै समर्थन र सहयोगमा आफूहरूले दल दर्ता गरेको बताएका छन् ।
छठलगत्तै देशैभरि आन्दोलन गर्ने चेतावनी दिएका प्रसाईलाई सरकारले वार्तामा पनि बोलाएको थियो ।
सरकारसँग उनको समूहको वार्तापछि प्रसाईले आन्दोलन केही समय स्थगित गरिएको बताएका थिए । तर मङ्सिर दोस्रो साताबाट पुनः आन्दोलनको घोषणा गरेका उनले पछिल्लो समय सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट सरकारबारे बोलिरहेका थिए ।
उनले सोमवार अबेर आफ्नो फेसबुकमा सार्वजनिक गरेको भिडिओमा सरकारको निर्माण र जेन जी आन्दोलन बाह्य शक्तिको आडमा भएको आरोप लगाइएको छ ।
पछिल्लो समय प्रसाईका गतिविधिबारे प्रशासनले निगरानी राखिरहेको र प्रहरी संगठनलाई होच्याउने र सार्वजनिक शान्तिमा खलल पर्ने किसिमका अभिव्यक्ति दिएका कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले बताए ।
प्रसाईले अगुवाइ गरेको नागरिक बचाऊ महाअभियानले संविधान संशोधन सहितका माग राखेर आन्दोलनको आह्वान गरेको थियो ।
जेन जी प्रदर्शनपछि नेपाली सेनाले दुर्गा प्रसाईलाई पनि वार्ताका लागि बोलाएको थियो । उनको उपस्थितिबारे कतिपय जेनजी नेताहरूले प्रश्न उठाएका थिए ।
आन्दोलनलगत्तै सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बनेपछि प्रसाई नयाँ सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि आक्रामक देखिएका थिए ।
प्रसाई नेतृत्वको नागरिक बचाऊ महाअभियानले खोला किनारका सुकुम्वासी बस्ती हटाउने काठमाडौं महानगरको कदमविरुद्ध प्रदर्शन समेत गरेको थियो ।
View : 191
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved