दुई दिनदेखि बंगलादेश सरकार बिहीन
ढाका । बंगलादेशका राष्ट्रपति मो. सहबुद्दीनले अर्को अन्तरिम सरकार त्यहाँका नोबेल पुरस्कार प्राप्त गरेका अर्थशास्त्री डा. मोहम्मद युनुसको नेतृत्वमा गठन गर्ने निर्णय भएका छन् ।
मङ्लबार राति बंगभवनमा राष्ट्रपति मो. सहबुद्दीन, तीनवटा सुरक्षा शक्तिका प्रमुख र विद्यार्थी आन्दोलनका संयोजकहरूसँगको बैठकले उक्त निर्णय गरेको राष्ट्रपतिका प्रेस सचिव जैनाल आबेदीनले पुष्टि गरेका हुन् ।
बंगलादेशमा कोटा सुधार आन्दोलनको नेतृत्व गर्दै आएको विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूको १५ सदस्यीय समुह बंगभवन पुगेको थियो ।
राष्ट्रपतिसँग बंगभवनमा तीनै सुरक्षा शक्तिका प्रमुख र विद्यार्थी आन्दोलनका संयोजकहरूसँग लामो छलफल चलेको थियो । सोही छलफलले मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय गरेको हो ।
उक्त छलफलले अन्तरिम सरकारमा रहने बाँकी १५ जना सदस्यहरूको नामावली समेत अघि बढाएको जनाइएको छ । जसमा ढाकास्थित नागरिक समाजका प्रतिनिधि, विश्वविद्यालयका प्राध्यापकहरू र विद्यार्थीको समेत प्रतिनिधित्व सुनिश्चित हुने भनिएको छ ।
उक्त सूचीलाई छिट्टै नै राष्ट्रपतिले छलफल गरेर टुङ्गो लगाउने दाबी गरिएको छ । सकेसम्म बुधबार नै, नभएपनि भोलि बिहीबारसम्म अन्तरिम सरकारको प्रमुखको रुपमा युनुसले पदभार सम्हाल्न सक्ने बंगलादेशको सरकारी स्रोतले दाबी गरेको त्यहाँको अखबार प्रथम आलोले लेखेको छ ।
शेख हसिनाले सरकार त्यागेर भारत भागेपछि बंगलादेशको दुई दिनयता सरकारविहिनता छ । जसको परिणाम ढाकासहित देशभरको राजनीतिक वातावरण अत्यन्तै अस्थिरतातर्फ अघि बढिरहेको जनाइएको छ ।
स्थितिलाई स्थिर बनाउनेतर्फ लाग्न नेकपालगायत राजनीतिक दलका नेता तथा आन्दोलनरत विद्यार्थीहरूले सकेसम्म छोटो समयमै अन्तरिम सरकार गठन गरेर उनलाई सबै कुरा सुम्पिने तयारी गरिरहेको जनाइएको छ ।
View : 142
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved