विराटनगर । नयाँ सरकारद्वारा सार्वजनिक गरिएको शासकीय सुधारका १०० कार्यसूची तथा मार्गचित्रप्रति नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले उत्साह व्यक्त गरेको छ । परिसंघले कार्यसूचीलाई स्वागत गर्दै प्रभावकारी कार्यान्वयनको अपेक्षा राखेको जनाएको छ ।
परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाले देशले युवाको नयाँ नेतृत्व प्राप्त गरेको बताउँदै नयाँ सोच र ऊर्जाले मुलुकलाई औद्योगिक तथा आर्थिक विकासतर्फ अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।
सरकार गठनको पहिलो दिनमै स्पष्ट कार्ययोजना सार्वजनिक गर्नु पारदर्शिता र उत्तरदायित्वतर्फको सकारात्मक संकेत भएको उनले बताए ।
सरकारले अघि सारेको शासकीय सुधार कार्यक्रमले उद्योग, लगानी तथा निजी क्षेत्र प्रवद्र्धनका साथै प्रशासनिक पुनर्संरचना र राजश्व सुधारलाई प्राथमिकता दिएको बताए ।
यस्ता सुधारहरूले मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान मद्दत पुग्ने निजी क्षेत्रले विश्वास गरेको बताए ।
परिसंघले विगतदेखि उठाउँदै आएका असान्दर्भिक ऐन–नियमको खारेजी, झन्झटपूर्ण प्रक्रिया हटाउने तथा राजश्व अनुसन्धान विभागको संरचनामा सुधार वा खारेजी जस्ता विषयहरू सरकारको कार्यसूचीमा समेटिनु सुखद् रहेको बताए ।
साथै, सरकारले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने जनचाहनाअनुसार सरकार अघि बढ्ने अपेक्षा गरेको उनले बताए ।
View : 185
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved