काठमाडौँ, ५ कात्तिक । रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ ।
रोटरीले यही कात्तिक ८ गते उपत्यकासहित सातै प्रदेशमा ‘इन्ड पोलियो नाओ’ विशेष अभियान सञ्चालन गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताए ।
उनका अनुसार रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनतेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ ।
अभियानअन्तर्गत कात्तिक ८ गते बिहान ६:३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल र्याली हुने तय गरिएको छ ।
सोही दिन साँझ धरहर सन्देशहरु प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
“नेपालमा आधिकारिक रुपमा पोलियोका बिरामी छैनन् ।
तर हामी सधैँ सचेत बनिरहनुपर्छ ।
पछिल्लो समय काठमाडौँको ढलमा पोलियो भाइरस भेटिएको समाचार प्रकाशित भएको थियो ।
यस कारण पनि हामी सधैँ सचेत भइरहनुपर्छ”, गभर्नर शाक्यले भने ।
उनले पोलियो उन्मूलनका लागि पाँच वर्ष मुनिका सबै बालबालिकालाई नछुटाइ पोलियोविरुद्धको खोप लगाउन अति जरूरी रहेको उल्लेख गरे ।
पोलियो खोप अभियानका लागि रोटरीले इन्टरनेशनलले नेपाल सरकारसँग सहकार्य गर्दै आइरहेको छ ।
रोटरीले पोलियो उन्मूलन अभियानसहित सात वटा क्षेत्रमा सामाजिक काम केन्द्रित गर्दै आइरहेको छ ।
त्यसमध्ये एक महत्वपूर्ण क्षेत्र स्वास्थ्य क्षेत्रको पोलियो विशेष कार्यक्रमलाई मुख्य प्राथमिकता दिएको हो ।
विश्वबाट नै पोलियो भाइरस उन्मूलन गर्न रोटरीले सुरुवाती समयदेखि नै प्रभावकारी रुपमा काम गर्दै आइरहेको दाबी गरेको छ ।
सन् १९०५ मा अमेरिकाको सिकागो सहरबाट सुरु भएको रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामूलक सामाजिक संस्था हो ।
विभिन्न मुलुकमा ४६ हजारभन्दा बढी रोटरी क्लब ५३८ वटा डिष्ट्रिक्टहरुअन्तर्गत आबद्ध छन् ।
साथै १२ लाखभन्दा बढी सदस्य रोटरी सेवामा सक्रिय रहेको संस्थाले जनाएको छ ।
नेपालमा रोटरीको सुरुवात सन् १९५९ मा भएको थियो ।
सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भएको हो ।
हाल नेपालमा १६१ वटा रोटरी क्लबले स्थानीयस्तरसँगै राष्ट्रियस्तरमासमेत विभिन्न कार्य गर्दै आएका छन् । रासस
View : 58
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved