Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

वरिष्ठ चिकित्सक करवाको निधन

उद्घोष सम्वाददाता
१३ चैत २०८०, मङ्गलवार

विराटनगर । वरिष्ठ चिकित्सक (सर्जन) डा रामेश्वरलाल करवाको मंगलबार निधन भएको छ । लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित डा. करवाको ७४ वर्षको उमेरमा निधन भएको हो । 

विराटनगर–१ निवासी करवाले प्रारम्भिक शिक्षा विराटनगरको  सत्यनारायण माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । विसं २०२१ सालको एसएलसी परीक्षामा उनी बोर्डको छैटौं स्थान भएका थिए । उनले कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्तिमा तत्कालीन सोभियत युनियनको राजधानी मस्कोबाट चिकित्सा शास्त्रको उच्च शिक्षा हासिल गरेका हुन् । 

चिकित्सा शास्त्रको अध्ययन पूरा गरेर आएपछि उनले कोशी अञ्चल अस्पतालबाट डाक्टरी सेवा प्रारम्भ गरेका हुन् । उनले अवकाश पनि कोशी अस्पतालबाटै लिएका हुन् । जागिरे जीवनमा उनी कोशी अञ्चल अस्पतालको दुई पटक मेडिकल सुपरिटेन्डेन्ट पनि भए । हक्की स्वभावका उनी कसैसँग डराउँदैन थिए ।

प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाका अनुसार चिकित्सा क्षेत्रको प्रारम्भिक जीवनदेखि नै उनले कोशी अस्पतालमा रहेर सेवा गरेका हुन् । विराटनगरमा इण्डोस्कोपी सेवा भित्र्याउने डा. करवा नै हुन् । चिकित्सा सेवाको क्षेत्रमा उनको ठूलो योगदान  छ । 

चर्चित हाँस्य कवि तथा समाजसेवी लक्ष्मण नेवटियाका अनुसार उनी सानै हुँदा आमा सरस्वतीदेवी करवाको निधन भयो । सानो उमेरमै दुःख पाएका उनी पढ्नमा भने अब्बल थिए । उनी स्वर्गीय किशनलाल करवाको जेठा  छोरा हुन् । 

जेठी श्रीमती भगवतीदेवी करवाको निधन भएपछि उनले विमला टण्डनसँग दोस्रो बिहे गरेका थिए । श्वेता र ज्योति उनका दुई छोरी हुन् । जेठी श्वेता कुवेतमा बस्छिन् भने कान्छी बेलायतमा बस्छिन् । बाबु सिकिस्त भएको खबर पाएपछि दुवै छोरी विराटनगर आएका थिए । उनको बुधबार अपरान्ह स्थानीय परम विश्रान्ति घाटमा अन्तिम संस्कार गरिने भएको छ ।

View : 434

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved