Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

कृषि फाराम बन्यो शैक्षिक अवलोकन केन्द्र

उद्घोष सम्वाददाता
७ मंसिर २०८०, बिहिवार

वबियाविर्ता : रंगेली नगरपालिका–१ बबियाविर्तास्थित जय श्रीराम एग्रो फारम शैक्षिक अवलोकन केन्द्र बन्दै गएको छ । कृषि तथा सामाजिक विषय अध्ययन हुने सो क्षेत्रका विद्यालयहरूका लागि एग्रो फारम प्रयोगात्मक कार्यका लागिसमेत गन्तव्य बनेको हो । 

बिहीबार रंगेली नगरपालिका–१ स्थित त्रिभुवन मावि गोहिगाडाका विद्यार्थीहरूले समेत उक्त कृषि फारमको स्थलगत अवलोकन गरेका छन् । अवलोकनमा विद्यालयका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरू र विषयगत शिक्षकहरू सहभागी रहेको शिक्षक डीपी ढुंगेलले जानकारी दिए ।

माछा जोन क्षेत्र रहेको बवियाविर्तामा २०७८ सालमा उक्त एग्रो फारम स्थापना भएको जनाइएको छ । हाल ३८ बिघा क्षेत्रफलमध्ये पाँच बिघामा १८ वटा पोखरी खनेर माछापालन गर्दै आएको जनाइएको छ । त्यसका साथै केरा खेती, ड्रयागन फल खेती र उन्नत जातका खसीबाख्रा पालन गर्दै आएको सञ्चालक तीर्थराज घिमिरेले बताए ।

सो कृषि फारममा सोही क्षेत्रका सामुदायिक विद्यालयमा कृषि तथा सामाजिक विषय अन्तरगतका विद्यार्थीहरू अवलोकनका लागि जाने गरेका छन् ।

कृषि पेशाप्रति चासो घट्दै गएको बेला आठ जनाको समूह मिलेर फारम सञ्चालन गरिएको सञ्चालक नेत्र पौडेलले बताए । फारमले १० जना स्थानीय युवाहरूलाई रोजगारी पनि दिएको उनले बताए ।

अर्का सञ्चालक गंगा घिमिरेका अनुसार अहिले दुई बिघा क्षेत्रफलमा ड्रगन फलको खेती गरिएको र आम्दानी पनि राम्रो भइरहेको छ । उनले तीन बिघामा केरा खेती सुरू गरेर अहिलेसम्म चार लाख रूपैयाँ आम्दानी समेत लिइसकेको बताए ।

View : 125

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved