Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ग्रामथानमा डिप बोरिङको ट्रान्सफर्मर चोरी, गिरोह नै खत्तम पारेको दुई महिनामै प्रहरीलाई चोरको चुनौति

उद्‌घोष संवाददाता
३ कार्तिक २०८२, सोमवार

विराटनगर । यसअघि २२ वटा विद्युत ट्रान्सफर्मर चोरी भएपछि चोरीमा संलग्न गिरोह नै खत्तम पारेको प्रहरीलाई त्यसको दुई महिनापछि चोरले नयाँ चुनौति थपिदिएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयले ट्रान्सफर्मर चोरी भइरहेका मोरङ, सुनसरी र झापामा जताततै प्रहरी खटाएर ट्रान्सफर्मर चोरीमा संलग्न गिरोह नै नियन्त्रणमा लिएको भन्दै गत साउन २० गते सात जनाको विवरण सार्वजनिक गरेको थियो । 

त्यसयता विद्युत ट्रान्सफर्मर चोरी पनि बन्द भयो । तर, फेरि शनिबार राति मोरङमा ट्रान्सफर्मर चोरीको घटना सार्वजनिक भएको हो ।

मोरङको ग्रामथान गाउँपालिका–७ मा रहेको धमियारेमा सिंचाईका लागि जडान गरिएको विद्युत ट्रान्सफर्मर चोरिएको घटना आइतबार विहान सार्वजनिक भएसँगै प्रहरीलाई चुनौति थपिएको हो ।

विगतको चोरीका घटनामा ग्रामथानकै वडा नम्बर २ झोराहाट र ग्रामथान–५ तेतरियामा ट्रान्सफर्मर चोरिएका थिए । चोरीमा संलग्न गिरोहले खानेपानी र सिंचाई प्रयोजनको डिप बोरिङमा पानी तान्न जडान गरिएका ट्रान्सफर्मरलाई पोलबाट खसालेर त्यहाँभित्र रहेको तामाको तार चोर्ने गरेका छन् । 

पछिल्लो पटक ट्रान्सफर्मर चोरीको घटनाले स्थानीय किसानको ६० विघा जमिनमा सिंचाई सुविधा प्रभावित भएको छ । 

ग्रामथान वडा नम्बर ७ का वडाध्यक्ष वीरेन्द्र चौधरीले निर्माण सम्पन्न गरेर उद्घाटनको तयारीमा रहेको डिप बोरिङ आयोजनाको ट्रान्सफर्मर चोरिएको बताए । चोरीमा संलग्न गिरोहले एकान्त स्थलमा रहेको उक्त डिप बोरिङको ट्रान्सफर्मर चोरी गरेर लगेपछि किसानहरू चिन्तित बनेको उनले जानकारी दिए । 

ट्रान्सफर्मर चोरिएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको मोरङ प्रहरीले जनाएको छ । 

ट्रान्सफर्मर चोरी गर्न विभिन्न उपकरणको समेत प्रयोग भएको विगतको अनुसन्धानले देखाएका कारण प्रहरीले पुनः अनुसन्धान अघि बढाएको जनाइएको छ ।

यसअघि लगातार भएका चोरीमा दुई करोड बढीको क्षति भएको थियो । 

सबैभन्दा बढी सुनसरीमा १२ वटा, मोरङमा आठ र झापामा दुई ट्रान्सफर्मर चोरी भएको प्रहरीले उल्लेख गरेको थियो ।

View : 364

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved