विराटनगर : नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत शब्दकोशमा सतार जातिलाई हेपाई र अपमानजनक विशेषण लगाइएको भन्दै कोशी प्रदेश सभाका सांसद एवं पूर्वमन्त्री लीलाबल्लभ अधिकारीले सच्चाउन माग गरेका छन् । उनले झापा र मोरङमा बसोबास गर्ने सन्थाल जातिलाई नागरिकता दिंदा सतार भनेर लेखाउने गरिएको भन्दै त्यसलाई समेत सच्याएर उनीहरूको जातीय पहिचान कायम गर्न माग गरेका हुन् ।
प्रदेश सांसद अधिकारीले सन्थाल जातिलाई सतार भनेर नागरिकता दिइने गरेको र बृहत नेपाली शब्दकोशमा सतार शब्दको विशेषणमा हेपाइपूर्ण शब्द राखिएको भन्दै तत्कालै शब्दकोश सच्याउन माग गरे । आइतबार प्रदेश सभाको शून्य समयमा बोल्ने क्रममा शब्दकोश देखाउँदै सांसद अधिकारीले जातीय रूपमा इमान्दार र कसैसँग द्वेष, राग र इबी नराख्ने जातिलाई हेपाइपूर्ण विशेषण दिइएको बताए ।
‘जातिगत रूपमा सवैभन्दा इमान्दार, द्वेष, राग, इबी नभएका सन्थाल समुदाय हुन्, तिनीहरूलाई नागरिकता दिंदा सतार भनेर दिने गरिएको छ’ अधिकारीले भने, ‘प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको शब्दकोशको पेज नम्बर १२४६ मा सतारको नाममा झापा र मोरङमा बस्ने एक जाति भनिएको छ, तर त्यसको विशेषणमा अर्घेलो, मोटो छोटो, खुब सप्रेको, लाज नभएको, नकचरो, कसैलाई नटेर्ने, उन्मत्त जाति भनेर लेखिएको छ, यो भन्दा आतंकित, भयभित शब्दावली अरू केही हुन सक्दैन ।’
उनले नेपाल सरकारको स्वामित्वमा रहेको प्रज्ञा प्रतिष्ठानबाट प्रकासित आधिकारिक शब्दकोशमै एउटा जाति विशेषलाई होचो अर्घेलो गर्ने कुराले संविधानको समानताको हक र निर्देशक सिद्धान्त समेतको बर्खिलाप भएको दाबी गरे । शब्दकोशको उक्त विशेषणलाई अबिलम्ब सच्याउन प्रदेश सरकारमार्फत संघीय सरकारको ध्यानाकर्षण गराए ।
सन्थाल जातिले समेत सतारको नाममा शब्दकोशमा उल्लेख गरिएको शब्दावली हटाउने माग गर्दै आएका छन् । सन्थाल जातिभित्र किस्कु, मर्डी, सोरेन, मुर्मु, हेमरम, हास्दा, टुडु, बास्के, बेस्रा, चोडे, पाउरिया र बेदिया गरी १२ वटा थर छन् । चोडे, पाउरिया र बेदिया भने अति लोपोन्मुख रहेको जनाइएको छ । जसमध्ये नेपालमा सन्थालका आठवटा जातिको बसोबास रहँदै आएको र सन्थालको जनसंख्या ५१ हजार हाराहारीमा रहेको जनाइएको छ ।
सांसद अधिकारीले सतारको शब्दावलीबाट दिएका नागरिकताहरूमा सन्थाल लेखाउने अनुमति प्रदान गर्न पनि सरकारसँग माग गरे । सन्थाल समुदायलाई सतार भनेर त्यसको अर्थमा होच्याउने गरी अपमानजनक रूपमा लेखिएको भन्दै यसअघि झापाका स्थानीय तहहरूले कुनै पनि कागजातमा सतार नलेख्ने निर्णय गरेका थिए ।
View : 426
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved