Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयको ३२ औं वार्षिकोत्सव

उच्च शिक्षामा गुणस्तर र एकताको संकल्प

उद्‌घोष संवाददाता
१९ पुष २०८२, शनिवार

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजु थपलिया र रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी, सप्ताहव्यापी खेलकुदमा विजयीलाई शिल्ड र प्रमाणपत्र वितरण गर्दै ।

विराटनगर  । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले आफ्नो स्थापनाको ३२ वर्ष पूरा गरेको अवसरमा शनिबार केन्द्रीय कार्यालय गोठगाउँमा भव्य समारोहका साथ ३२ औं वार्षिकोत्सव मनाएको छ। साताव्यापी रूपमा सञ्चालित विभिन्न खेलकुद तथा रचनात्मक कार्यक्रमहरूको समापनको साथै शनिबार मूल समारोह सम्पन्न भएको हो।

समारोहमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले विश्वविद्यालयको गरिमा बढाउन गुणस्तरीय शिक्षा र अनुसन्धानमा जोड दिनुपर्ने बताए। उनले पूर्वाञ्चल विश्वविद्यालयले मुलुकको उच्च शिक्षाको क्षेत्रमा पु-याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा दक्ष जनशक्ति उत्पादनमा अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमका  गोठगाउँ नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले स्थानीय समुदाय र विश्वविद्यालयबीचको सम्बन्धलाई थप उचाइमा पु-याउनुपर्ने धारणा राखे।

कार्यक्रमको अध्यक्षता गरेका उपकुलपति प्राडा. विजुकुमार थपलियाले विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, अनुसन्धान र सामाजिक उत्तरदायित्वको केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। समापन मन्तव्यमा उनले भने, ‘विश्वविद्यालयको ३२ वर्षको यात्रा उत्साहजनक छ। अब हामी संस्थागत सुशासन र आधुनिक प्रविधिमैत्री शिक्षातर्फ केन्द्रित हुनेछौं।’

समारोहमा पूविका रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी, योजना महाशाखा प्रमुख रामप्रसाद ढकाल, पूर्व प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौला, विश्वविद्यालय सभाका सदस्यहरू पीतकुमार श्रेष्ठ र रञ्जन ओझा, उपकुलपतिका सल्लाहकार दिनेशराज सुवेदी लगायतको उपस्थिति थियो।

त्यस्तै कर्मचारी संघका सभापति रुपेश बस्नेत, प्राध्यापक संघका सभापति नरेशकुमार साह लगायतको उपस्थिति  थियो।  समारोहमा साताभरि भएका खेलकुद प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।

View : 206

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved