पूर्वाञ्चल विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्मेलन
गोठगाउँ, मोरङ । नेपालका हिमालहरूमा पर्वतारोहणको अवसर बढेसँगै जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा गम्भीर असर पुगिरहेको विज्ञहरूले औँल्याएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयद्वारा गोठगाउँस्थित केन्द्रीय कार्यालयमा आयोजित ‘हिमालय क्षेत्रको भविष्य र दिगो विकास’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विज्ञहरूले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
शुक्रबार सम्पन्न सो सम्मेलनमा नेपालसहित युरोप, उत्तर अमेरिका, अफ्रिका र भारत लगायतका मुलुकका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूले आ–आफ्नो शोधपत्र प्रस्तुत गरेका थिए ।
एक सयभन्दा बढी अनुसन्धान प्रस्तुत
विश्वविद्यालयका अनुसार सम्मेलनमा हिमालय क्षेत्रको भविष्य, बढ्दो तापक्रम र जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा एक सयभन्दा बढी खोजमूलक कार्यहरू प्रस्तुत गरिएका थिए ।
विज्ञहरूले हिमालय क्षेत्रको जगेर्ना र प्रवर्द्धनका लागि संघीय सरकारका साथै प्रदेश सरकारले समेत ठोस नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।
विश्वविद्यालयको आगामी योजना
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलियाले दुईदिने बहसले हिमालय क्षेत्रका लागि दीर्घकालीन र दिगो नीतिको आवश्यकतालाई स्पष्ट पारेको बताए ।
उनले यस्ता प्राज्ञिक र अन्तर्राष्ट्रियस्तरका सम्मेलनलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।
गोठगाउँ घोषणापत्र सार्वजनिक
सम्मेलनको समापनका अवसरमा सम्मेलनका अध्यक्ष एवं इन्जिनियरिङ सङ्कायका डीन प्राडा भोलानाथ शर्मा घिमिरेले 'गोठगाउँ घोषणापत्र' सार्वजनिक गरे ।
घोषणापत्रमा हिमालय क्षेत्रको दिगो विकास र संरक्षणका लागि विश्वव्यापी सहकार्यको आह्वान गरिएको छ ।
View : 305
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved