Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

प्याब्सन प्रेसिडेन्ट कप: मोरङका ८ स्कुल क्वाटरफाइनलमा

उद्घोष सम्वाददाता
२६ माघ २०८०, शुक्रवार

विराटनगर । १३औं संस्करणको प्याब्सन खेलकुद सप्ताह अन्तर्गत भएको प्याब्सन प्रेसिडेन्ट कप यू–१५ फुटबल प्रतियोगितामा विजयी हुँदै ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । 

विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेलमैदानमा बिहीबार भएका खेलमा विराटनगरको सेन्टजोसेफ, बेलबारीको शिक्षासदन, पथरीको सिंहदेवी स्कुल, एभरेष्ट, अन्नपूर्ण, सुन्दरहरैंचाको हरैंचा मोडल, बेलबारीको भूपू सैनिक र सुनगाभा  क्वाटरफाइनलमा पुगेका हुन् । 

विराटनगर जुट मिलको खेलमैदानमा भएको पहिलो खेलमा ग्रामथान गाउँपालिकामा रहेको जनक मेमोरियल स्कुललाई सडन डेथमा  १३–१२ गोलले हराउँदै विराटनगरको  सेन्टजोसेफ स्कुल अन्तिम आठमा पुगेको छ । 

यसैगरी रतुवामाइको मुनाल आदर्श स्कुललाई ३–० गोलले हराउँदै बेलबारीको शिक्षा सदन स्कुल विजयी भएको छ । 

तेस्रो खेलमा विराटनगरको ग्यालेक्सी स्कुललाई पथरीको एभरेष्ट स्कुलले १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको छ । 

चौथो खेलमा उर्लाबारीको विद्या ज्योती स्कुलले पथरीको अन्नपूर्ण स्कुललाई  २–० गोलले पराजित गर्‍यो । 

यसैगरी डिग्री क्याम्पसको खेलमैदानमा भएको पहिलो खेलमा हरैंचा मोडल स्कुलले विराटनगरको सगरमाथा स्कुललाई १–० गोलले हरायो ।

दोस्रो खेलमा बेलबारीको भूपू सैनिक स्कुलले सुन्दरहरैंचाको सिद्धार्थ स्कुललाई टाइब्रेरकमा ३–२ गोलले जित्यो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । 

तेस्रो खेलमा उर्लाबारीको सुनगाभा बोर्डिङ स्कुलले पशुपति आवासीय विद्यालयलाई टाइब्रेरकमा ४–३ गोलले निरास बनायो । निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि खेल टाइब्रेकर भएको थियो ।  

चौथो खेलमा पथरीको सिंहदेवी स्कुलले बेलबारीको बाल्मिकी स्कुललाई १–० गोलले हरायो । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन खेलकुद उत्सव हुँदैछ । खेलकुद उत्सवको औपचारिक उद्घाटन शुक्रबार विराटनगरस्थित सहिद मैदानमा हुँदैछ । 

खेलकुद उत्सवमा प्याब्सनमा आवद्ध जिल्लाभरीका २१० वटा सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिने अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने खेलकुद उत्सवमा २५ भन्दा बढी एथलेटिक्स, टी–टी एकल स्पर्धा र कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ ।

View : 142

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved