Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

पाँच दशकपछि नासाको मानवसहित चन्द्र यात्रा तयारी अन्तिम चरणमा

उद्‌घोष संवाददाता
१८ माघ २०८२, आइतवार

केप क्यानाभेरल । नासाले पाँच दशकभन्दा बढी समयपछि पहिलो पटक अन्तरिक्ष यात्रीसहित चन्द्रमातर्फ प्रक्षेपण गर्ने ऐतिहासिक मिसनका लागि तयारी तीव्र बनाएको छ ।

अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरलमा नासाले शनिबार दुईदिने अभ्यासात्मक काउन्टडाउन (र्प्याक्टिस काउन्टडाउन) सुरु गरेको हो, जसले नयाँ चन्द्र रकेटमा इन्धन भर्ने प्रक्रियासम्म पुग्ने तयारी परीक्षण गर्नेछ ।

यो परीक्षण सफल भएमा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको वरिपरि घुमाएर पृथ्वी फर्काउने मिसनको प्रक्षेपण मिति तय हुने नासाले जनाएको छ ।

कमाण्डर रिड वाइजम्यानको नेतृत्वमा रहेका अन्तरिक्ष यात्रीहरू हाल स्वास्थ्य सुरक्षाका लागि क्वारेन्टिनमा छन् । उहाँहरू सन् १९७२ पछि चन्द्रमातर्फ यात्रा गर्ने पहिलो मानव टोली हुनेछन् ।

अन्तरिक्ष यात्रीहरूले टेक्सासको ह्युस्टनस्थित नासा केन्द्रबाट अभ्यास प्रक्रियाको निगरानी गर्नेछन् र रकेट उडानका लागि स्वीकृत भएपछि केनेडी स्पेस सेन्टरतर्फ प्रस्थान गर्नेछन् ।

तीन सय २२ फिट अग्लो ‘स्पेस लञ्च सिस्टम’ रकेट दुई साताअघि नै प्रक्षेपण स्थलमा सारिएको थियो । यदि सोमबार हुने इन्धन भर्ने परीक्षण सफल भएमा नासाले एक साताभित्र प्रक्षेपण गर्ने तयारी गर्न सक्ने जनाएको छ ।

परीक्षणका क्रममा रकेटमा सात लाख ग्यालोनभन्दा बढी अत्यन्त चिसो इन्धन भरिनेछ, जुन इन्जिन प्रज्वलन हुनुभन्दा करिब ३० सेकेन्डअघिसम्म पुगेर रोकिनेछ ।

यसअघि अत्यधिक चिसो मौसमका कारण इन्धन परीक्षण र प्रक्षेपण तालिका दुई दिन पछि सरेको थियो ।

हालका अनुसार फेब्रुअरी ८ सबैभन्दा चाँडो सम्भावित प्रक्षेपण मिति हो । ‘ओरियन’ क्याप्सुलमा सवार अमेरिकी र क्यानाडाली अन्तरिक्ष यात्रीहरू चन्द्रमाको वरिपरि घुमेर बिना अवतरण पुनः पृथ्वी फर्कनेछन् ।

करिब १० दिन लामो यस मिसनको अन्त्य प्रशान्त महासागरमा अवतरण (स्प्ल्यासडाउन) भएर हुनेछ ।

यसअघि अपोलो कार्यक्रमअन्तर्गत सन् १९६८ देखि १९७२ सम्म नासाले २४ जना अन्तरिक्ष यात्रीलाई चन्द्रमातर्फ पठाएको थियो, जसमा १२ जनाले चन्द्र सतहमा पाइला टेकेका थिए । (रासस/एपी)

View : 451

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved