विराटनगर, ७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति नभएको बताएका छन् ।
नेपाल उद्योग परिसंघको प्रदेशको पदस्थापना कार्यक्रमसहित प्रजातन्त्र सेनानी सम्मानका लागि शनिबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नेपालमा कृषि क्षेत्रको रूपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्न सरकार एक्लैले नसक्ने बताए ।
उनले निजी क्षेत्रसँग साझेदारी गरेमा मात्रै यो सम्भव हुने भन्दै सार्वजनिक निजी साझेदारीलाई थप व्यापक र प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
‘कुल लगानीमा दुई तिहाइभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरूको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजी क्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ’ राष्ट्रपति पौडेलले भने, ‘हाम्रो जस्तो देशको लागि विदेशी सञ्चितिको स्थितिले बढी महत्व राख्दछ, विदेशी सञ्चिति राम्रो अवस्थामा भएको हुँदा अप्ठ्यारो अवस्थामा लिएका कदमहरूलाई सरकारले विस्तारै सामान्य गराउँदै लैजानु पर्दछ भन्ने लाग्दछ ।’
पौडेलले स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । उनले सूचना प्रविधिलाई सहज र सरल नीतिगत आधार तयार गरिदिने हो भने व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निभाउन सक्ने स्थिति रहेको पनि बताए ।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै, वातावरण संरक्षणका साथ हरित अर्थतन्त्र र दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तह निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा अगाडि बढ्नु पर्ने पनि राष्ट्रपति पौडेलले बताए ।
उनले आफ्नो आगतले भ्याएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनैपनि प्रकारले आँच आउन नदिने बताए ।
‘मेरो तागतले भेटेसम्म र म रहेसम्म देशको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनैपनि आच आउन दिनेछैन, कुनैपनि यसमा आँच आउन सक्नेछैन, म तपाईँलाई यो विश्वास दिलाउन चाहन्छु’ उनले भने, ‘संविधानले जुन भूमिका मलाई दिएको छ, निष्ठापूर्वक मैले त्यसको पालना गर्नेछु ।’
पौडेलले स्वतन्त्रताका लागि आफूलाई समर्पित र जीवन उत्सर्ग गर्ने कोशी प्रदेशका अग्रजहरू कृष्णप्रसाद कोइराला, वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सिके प्रसाई, शैलजा आचार्य, केशव कोइराला, तारणीप्रसाद कोइराला, नोना कोइराला, नारदमुनी थुलुङ, क्याप्टेन यज्ञबहादुर थापा, बलबहादुर राई, भरतमोहन अधिकारी, भुविक्रम नेम्वाङ, प्रेमराज आङदम्बे, चिरिन्जीवी रिजाल, रामप्रसाद राई, धनवर्ण राई, लिला–ठगी–गोकर्ण, राम–लक्ष्मण र नेपालमा औद्योगिक अभियानको सुरुवात गर्ने रामलाल गोल्छा, चन्दनमल दुगड लगायत अन्यलाई स्मरण गरेको बताएका थिए ।
View : 147
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved