Biratnagar, Morang, Nepal
१८ माघ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

विद्यार्थीहरुमाथि दुर्व्यवहार गर्ने होस्टल सञ्चालिका रेग्मी पक्राउ परे लगत्तै अस्पताल भर्ना

बिरामी परेको बहाना गरेको विद्यार्थीहरुको आरोप
उद्‌घोष सम्वाददाता
२ चैत २०८०, शुक्रवार

Advertisement

विराटनगर । विद्यार्थीहरूबाट जबरजस्ती भाडा असुल गर्न दुर्व्यवहारमा उत्रिएकी विराटनगर–८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालिका मधु रेग्मीले बिरामीको बहाना गरेर अस्पताल भर्ना भएको भन्दै विद्यार्थी सङ्गठनहरूले विरोध जनाएका छन् ।

छानबिनको दायरामा आउनु पर्ने व्यक्ति कानुनी छिद्रको सहाराले अस्पताल भर्नाको भन्दै विराटनगर नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार पत्रकार सम्मेलन गर्दै विरोध जनाएको हो ।

अघिल्लो दिन विद्यार्थीहरूमाथि आक्रमण गर्न तयार भएकी होस्टल सञ्चालिका रेग्मी बुधबार पक्राउ परेपछि बिरामी परेको भन्दै कोशी अस्पताल भर्ना भएकी थिइन् ।

बिहीबार पुनः कोशी अस्पतालबाट रिफर लिएर मोरङ सहकारी अस्पताल भर्ना भएकी हुन् ।

नर्सिङ क्याम्पस विराटनगरकी स्ववियु सभापति प्रशंसा पौडेलले पक्राउ परेको व्यक्ति एकाएक बिरामी भएको नाटक गरेर कानुनको आँखामा छारो हालेको बताइन् ।

उनले दोषीलाई बिरामीको संज्ञा दिएर अस्पतालमा डाक्टरलाई समेत नदेखाई मेडिकल अफिसरको हस्ताक्षरको भरमा सहकारी अस्पतालमा रिफर गरिएको घटनाप्रति आपत्ति जनाइन् ।

दोषीलाई जोगाउनका लागि विभिन्न प्रपञ्च रचिएको भन्दै तत्कालै आवश्यक कारवाही गर्न माग गरिन् । सभापति पौडेलले दोषीलाई जोगाउन खोजे नर्सिङ क्याम्पस स्ववियुको नेतृत्वमा आन्दोलनमा उत्रिने चेतावनी दिइन् ।

पत्रकार सम्मेलनमा विभिन्न विद्यार्थी संघ संगठन र नर्सिङ क्याम्पसकी प्रधानाध्यापक मेनुका भण्डारी लगायतले पनि दोषीमाथि कारवाहीको माग गरेका छन् । उनीहरूले विद्यार्थीहरूलाई अमानवीय रुपमा व्यवहार भएको भन्दै घटनाको भर्त्सना गरेका हुन् ।

होस्टल सञ्चालिका रेग्मीले मंगलबार साँझ विद्यार्थीहरू बसेको कोठामै प्रवेश गरेर उनीहरूलाई अपशब्द प्रयोग गर्दै आक्रमण गरेकी थिइन् । उक्त घटनाको भिडियो बाहिरिएपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् ।

विराटनगर नर्सिङ क्याम्पसमा विएनएस बिएस्सी नर्सिङ प्रथम वर्षमा अध्ययनका लागि बुटबल र जुम्लाबाट आएका विद्यार्थीहरूलाई क्याम्पसमा तत्काल होस्टल खाली नभएपछि केहि दिनका लागि भन्दै मुनलाइट होस्टलमा पठाइएको थियो ।

क्याम्पसकै होस्टलमा पर्याप्त कोठाको व्यवस्थापन नहुन्जेलसम्मका लागि बाहिरी होस्टलमा बस्दै आइरहेको उनीहरूलाई होस्टल सञ्चालिका रेग्मीले चैत महिनाको भाडा रकम समेत अग्रिम रुपमा बुझाउन दवाव दिएकी थिइन् ।

विद्यार्थीहरूलाई पटक– पटक दुर्व्यवहार गर्दै आएकी रेग्मीले उनीहरूको सिरक, तन्ना, ब्ल्याङ्केट, सिरानीका साथै पाठ्यपुस्तकहरू समेत फालिदिएकी थिइन् । उनले बलपूर्वक विद्यार्थीहरूलाई निकाल्ने प्रयास गरेकी थिइन् । 

पीडित विद्यार्थीहरूले भने होस्टललाई फागुनदेखि चैत ३ गतेसम्मको भाडा बुझाइसकेको बताएका थिए । तर तर सञ्चालिका रेग्मीले आफू काठमाडौं जानुपर्ने भएको भन्दै चैत महिनाको पनि पहिले नै पैसा मागेकी थिइन् ।

विद्यार्थीले पैसा दिन इन्कार गरेपछि उनले तत्कालै निस्किएर जान भन्दै विद्यार्थीहरूलाई हातपात गरेकी थिइन् ।

View : 240

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved