तीन दिनसम्म जलेको थियो महानगरको प्रशासनिक भवन
विराटनगर । जेनजी समूहको प्रदर्शनका क्रममा तोडफोड र आगजनीको निशानामा परेको कोशी प्रदेशकै एकमात्र महानगर विराटनगरका दुवै प्रशासनिक भवनमा तत्काल प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको पाइएको छ ।भदौ २४ गतेको आगजनीबाट महानगरका दुई प्रशासनिक भवनभित्र तीन दिनसम्म पनि आगो बलेको थियो ।
आइतबार भएको महानगरपालिकाका दुवै भवनको प्राविधिक परीक्षणमा तत्कालै प्रयोग गर्न नसकिने प्रारम्भिक नतिजा आएको हो ।
महानगरपालिकाको आग्रहमा मनमोहन प्राविधिक विश्वविद्यालय, नेपाल इन्जिनियरिङ एसोसिएशन कोशी र पूर्वाञ्चल विश्वविद्यालयका एक दर्जन बढी इञ्जिनियरहरूले आगजनीबाट जलेको भवनमा परीक्षण गरेको थियो ।
महानगरपालिकाको उत्तरतर्फको भवन करिव ४० वर्ष पुरानो हो भने दक्षिणतर्फको भवन १६ वर्ष पुरानो हो ।
इञ्जिनियरहरूको टोलीले गरेको ‘¥यापिड भिजुअल एसिसमेन्ट’ र अल्ट्रासाउण्डका आधारमा दुवै भवनका केही महत्वपूर्ण ठाउँका पिलर, बिम र स्लाबमा अत्यधिक क्षति पुगेको पाइएको हो ।
मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्राडा रेखा श्रेष्ठले दुवै भवनमा आगजनी भएपछि बस्नलायक छ कि छैन भनेर परीक्षण गरिएको बताइन् ।
प्रारम्भिक परीक्षण गर्दा भवनको मुख्य भारवहन गर्न पहिलो तलामै बिम र पिलर धेरै समय जलेका कारण भारवहन क्षमता अत्यन्तै कम पाइएको जानकारी दिइन् ।
‘भवनमा ठूलो क्षति भएको छ कि छैन भन्ने परीक्षण गरेका छौं । बिम, कोलम र ग्राउण्डमा जाँच गरेका छौं’ उनले भनिन्, ‘हाम्रो परीक्षणका क्रममा पुरानो भवनको सभा हलको छत (ग्राउण्ड) जलेर निकै कमजोर भएको पाएका छौं, पिलरले पनि भारबहन क्षमता गुमाइसकेको देखिन्छ ।’
उनले नयाँ भवनको बीचको पिलरको भारवहन क्षमता घटेर ११ मेगा पास्कल मात्रै मापन भएको जानकारी दिइन् । त्यस्तै पुरानो भवनको ग्राउण्ड कम्तिमा २० मेगा पास्कल हुनुपर्नेमा ११ मेगा पास्कल मात्रै आएको र बिम पनि चर्किएका कारण जोखिमपूर्ण रहेको बताइन् ।
‘हामीले तत्कालै बस्न मिल्छ कि मिल्दैन भनेर हेरेका हौं, अहिलेको परीक्षणको आधारमा बस्नयोग्य छ भनेर ‘ग्रीन’ चिन्ह दिन मिल्दैन’ उनले भनिन्, ‘अब अझै जलेको कङ्क्रिटलाई ल्याबमा परीक्षण गरेपछि मात्रै वास्तविक नजिता आउने आशा गरौं ।’
महानगरपालिकाका कर्मचारीहरूले कार्यालय भवनमा लगातार तीन दिनसम्म आगो बले पनि निभाउन नसकिएकोले भवनको पिलर र बिममा ठूलो क्षति पुगेको हुनसक्ने बताएका छन् ।
उनीहरूले विस्तृत परीक्षणपछि मर्मत सम्भार गरेर पुनः प्रयोगमा ल्याउन सकिने कि नसकिने भन्ने थाहा हुने उनले जानकारी दिए । आगजनीका कारण भवनको छत चर्किएर सिमेन्ट उक्किएर झरेको छ । पिलरमा र बिममा पनि रड देखिएका छन् ।
आगोले सिमेन्ट र रडबीचको पकड नै गुमेका कारण सानो भुईंचालोमा पनि भवनमा थप क्षति पुग्ने जनाइएको छ । जसका मर्मत गरेर पनि मान्छे बस्न जोखिम हुने इञ्जिनियरहरूको बताए ।
View : 440
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved