Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

उच्च अदालत विराटनगरको चौथाे पञ्चवर्षीय रणनीतिक योजना समीक्षा

आव २०८०–८१ सवैभन्दा बढी मुद्दा फर्छ्योट, धेरै मुद्दा फर्छ्योट गर्ने न्यायाधीश पुडासैनी

मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले अहिलेको मुद्दा संख्याको आधारमा उच्च अदालत विराटनगरमा कम्तिमा पनि १४ जना न्यायाधीश हुनुपर्ने बताए । तर तोकिएकै दरबन्दी अनुसारका न्यायाधीश समेत नभएका कारण मुद्दा फर्छ्योटमा समस्या भई सेवाग्राहीलाई अप्ठेरो भइरहेको उनले बताए ।
बाबुराम भण्डारी
३ साउन २०८१, बिहिवार

बुधबार उच्च अदालत विराटनगरले आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा मुख्य न्यायधीस राजभण्डारी (बिचमा) सहित अन्य न्यायधीसहरु । तस्वीर: बाबुराम/उद्घोष

Advertisement

विराटनगर । उच्च अदालत विराटनगरले चौथो पञ्चवर्षीय रणनीतिक योजना कार्यक्रमको अन्तिम बर्ष सवैभन्दा धेरै मुद्दा फर्छ्योट गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा ३ हजार २ सय ५४ वटा मुद्दा फर्छ्योट गरेको जनाइएको छ । उक्त आवमा मुद्दाको संख्यासमेत हालसम्मकै उच्च थियो ।

उच्च अदालतका अनुसार अघिल्लो आर्थिक बर्षबाट जिम्मेवारी सरेर आएका २ हजार ५ सय ४४ र आव २०८०–८१मा दर्ता भएका ४ हजार ८ सय ९३ गरी कुल ७ हजार ४ सय ३७ वटा मुद्दा हेरिएको जनाइएको छ ।

अदालतमा चौथो पञ्चवर्षीय रणनीतिक योजना आव २०७६–०७७ बाट सुरु भएको हो । रणनीतिक योजना अनुसार २ बर्ष अवधिको मुद्दालाई शून्यमा झार्ने विषयलाई अदालती रुपमा निकै उपलब्धिमुलक मानिएको थियो । रणनीतिक योजना कार्यान्वयनको पहिलो वर्षमा दुई बर्ष नाघेका २२ वटा र आव २०८०–८१ मा १२ वटा मुद्दा भने फर्छ्योट हुन नसकेको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार पहिलो बर्ष ६२ दशमलव ४७ प्रतिशत मुद्दा फर्छ्योट भएको हो । रणनीतिक योजनाको दोस्रो वर्षमा ५७ दशमलव ५७, तेस्रो वर्षमा ६० दशमलव ४५, चौथो वर्षमा ५३ दशमलव ५७ र अन्तिम आव २०८०–८१ मा ४३ दशमलव ७५ प्रतिशत मुद्दा फर्छ्योट भएको जनाइएको छ । मुद्दाको संख्याका आधारमा यो आवमा सवैभन्दा धेरै मुद्दा फर्छ्योट भएको हो ।

उच्च अदालत विराटनगरमा पाँच बर्षमा २६ हजार ३० वटा मुद्दा कायम भएकोमा १४ हजार १ सय २ वटा मुद्दा फर्छ्योट भएको हो । यस आधारमा हेर्दा पाँच बर्षमा कुल ४५ दशमलव ८२ प्रतिशत मुद्दामात्रै फर्छ्योट भएको देखिएको छ ।

२०८० साउनदेखि २०८१ असार मसान्तसम्मको लगत अनुसार उच्च अदालतमा नयाँ मुद्दा दर्ताको लक्ष्यभन्दा १ हजार ४ सय ७१ वटा मुद्दा बढी दर्ता भएका छन् । योजना अनुसार ३ हजार ४ सय २२ वटा नयाँ मुद्दा दर्ता हुने अनुमान गरिए पनि नयाँ दर्ता मुद्दाको संख्या ४ हजार ८ सय ९३ पुगेको रजिष्ट्रार भट्टले बताए ।

तल्लो अदालतबाट भएको आदेशमा चित्त नबुझी निवेदन वा प्रतिवेदनमार्फत गत आवमा जिम्मेवारी सरेका १९६ र नयाँ दर्ता निवेदन प्रतिवेदन १ हजार ४३ गरी जम्मा १ हजार २३९ वटा निवेदन प्रतिशत दर्ता भएका थिए । जसमध्ये १ हजार १६३ वटा अर्थात ९३ दशमलव ८६ प्रतिशत त्यस्ता निवेदन प्रतिशत फर्छ्योट भएको जनाइएको छ ।

उच्च अदालतका अनुसार गत आव २०८०–८१ मा सवैभन्दा बढी सरकारवादी फौजदारीतर्फ ३ हजार ९३ र दोस्रोमा व्यक्तिवादी देवानी २ हजार १७४ वटा मुद्दा दर्ता भएका हुन् ।

दरबन्दी अनुसार छैनन् न्यायाधीश

उच्च अदालत विराटनगरले प्रत्येक आर्थिक वर्षमा लामो अवधिका मुद्दालाई फर्छ्योट गर्दै मुद्दाको संख्यालाई घटाउने नीति लिए पनि त्यसका लागि न्यायाधीशहरुको भने अभाव रहेको पाइएको छ । उच्च अदालत विराटनगरमा १२ जना न्यायाधीशको दरबन्दी भए पनि आव २०८०–८१ को माघ महिनासम्म आधामाक्रै न्यायाधीशहरु रहेका थिए । न्यायाधीश नियुत्ति र सिफारिसमा भएको ढिलाइका वावजुद पनि उच्च अदालतले उल्लेख्य संख्यामा मुद्दाको फैसला गरेको हो ।

मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले अहिलेको मुद्दा संख्याको आधारमा उच्च अदालत विराटनगरमा कम्तिमा पनि १४ जना न्यायाधीश हुनुपर्ने बताए । तर तोकिएकै दरबन्दी अनुसारका न्यायाधीश समेत नभएका कारण मुद्दा फर्छ्योटमा समस्या भई सेवाग्राहीलाई अप्ठेरो भइरहेको उनले बताए ।

‘मुद्दाको चाप बढ्दै गएको छ, दरबन्दीका १२ जना न्यायाधीशहरु मध्ये अहिले ९ जनामात्रै हुनुहुन्छ, चारवटा इजलास चलाउन पनि अप्ठेरो छ’ मुख्य न्यायाधीश राजभण्डारीले भने, ‘थप तीनवटा बेन्च चल्ने हो भने अदालतका सेवाग्राहीलाई सहज हुने देखिन्छ ।’ 

उनले अदालतको धेरै समय रिट निवेदनमाथिको अन्तरिम छलफलले नै खाइदिने गरेको बताए । यसअघि ओखलढुंगा इजलास अन्तरगत रहेको उदयपुर जिल्लाको मुद्दासमेत हाल उच्च अदालतमै थपिएका कारण मुद्दाको संख्यामा बृद्धि भएको तर दरबन्दी अनुसारका न्यायाधीश भने नभएको जनाइएको छ ।

‘हामीले शुक्रबार पनि मुद्दा हेरेका छौं, विहान ११ बजदेखि बेलुका ६ बजेसम्म इजलासमा सुनुवाई चलाएका छौं, सेवाग्राहीलाई सेवा पुगोस् भनेर सकेको जति गरिरहेका छौं’ मुख्य न्यायाधीश राजभण्डारीले भने, ‘असारसम्म जसोतसो कर्मचारीहरुले पनि सहयोग गर्नुभयो, बारले पनि गर्नुभयो, सँधैभरी त यसरी चल्न मुस्किल हुनसक्छ, हामीलाई दरबन्दी अनुसारका न्यायाधीशहरु अनिवार्य रुपमा चाहिन्छ ।’

मुख्य न्यायाधीश राजभण्डारीले उच्च अदालत विराटनगरसहित १४ जिल्लाका जिल्ला अदालत, उच्चकै इलाम, धनकुटा र ओखलढुंगा इजलासमा कुनै पनि प्रकारको बेथितिलाई प्रवेश गर्न नदिइने बताए । अदालतभित्र कुनै अनियमितता नहोस्, बिचौलियाको चलखेल नहोस् र सुशासनको प्रत्याभूति व्यवहारबाटै होस् भन्नका लागि नियमित खबरदारीको काम समेत भइरहेको जानकारी दिए ।

अदालतमा न्यायीक समृद्धिको चाहनालाई कार्यान्वयन गर्न र न्यायीक सुशासन कायम गर्न कुनै पनि प्रकारले कसैलाई पनि छुट नहुने बताए ।

धेरै मुद्दा फर्छ्योट गर्ने न्यायाधीश पुडासैनी

त्यसैगरी उच्च अदालत विराटनगरमा हाल रहेका नौ जना न्यायाधीशहरु मध्ये २०८१ असार मसान्तसम्म न्यायाधीश श्रीधराकुमारी पुडासैनीले सवैभन्दा बढी ७५६ वटा मुद्दा फर्छ्योट गरेकी छन् । उनले १८८ कार्यदिन मुद्दा हेरेको जनाइएको छ । मुख्य न्यायाधीश राजभण्डारीले पनि १७३ कार्यदिनमा ७५२ वटा मुद्दा फर्छ्योट गरेका छन् । 

न्यायाधीश ममत खनालले १७७ कार्यदिनमा ६९१, कृपासुर कार्कीले १०७ कार्यदिनमा ५९६, विपुल न्यौपानेले २०७ दिनमा ५७९, केशवप्रसाद बाँस्तोलाले ९५ दिनमा ५५६, सूर्यनाथ प्रकाश अधिकारीले १०४ दिनमा ४४० र १२४ कार्यदिनमा न्यायाधीश नरेशकुमार चौधरीले ४१४ वटा मुद्दा फर्छ्योट गरेको जनाइएको छ । आव २०८०–८१ मै उच्च अदालतबाट सरुवा भएर गएका न्यायाधीशहरुले १ हजार २ सय ५२ वटा मुद्दा फर्छ्योट गरेका थिए ।

View : 252

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved