Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

‘सीओ–टु’ को आयातमा न्यून भन्सार, संकटको सामना गर्दै नेपाली उद्योग

उद्‌घोष संवाददाता
३ जेठ २०८३, आइतवार

विराटनगर । कोक, बियर तथा इनर्जी ड्रिन्कमा फिँज निकाल्न प्रयोग हुने कार्बनडाइअक्साइड(सीओ–टु) मा न्यून भन्सार दर र कम मूल्यको बिजकीकरणका कारण स्वदेशी उद्योग संकटमा परेका छन् । 

उद्योगीहरूका अनुसार भारतीय सीओ–टुको सस्तो आयात बढेपछि नेपालमै उत्पादन भएको ग्यास बिक्री हुन छाडेको छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा स्थापित प्रिमियम डिस्टिलरी लिमिटेडका सञ्चालक प्रदीप सारडाका अनुसार सीओ–टु पेय पदार्थमा फिँज निकाल्ने, स्वाद स्थिर राख्ने तथा बोतलभित्र दबाब कायम गर्ने औद्योगिक ग्यास हो । 

कोक, बियर, सोडा तथा इनर्जी ड्रिन्क उत्पादनमा यसको व्यापक प्रयोग हुन्छ । पेय पदार्थलाई लामो समयसम्म सुरक्षित राख्न पनि यसको प्रयोग आवश्यक हुन्छ ।

उद्योगी सारडाका अनुसार डिस्टिलरी उद्योगमा इथानोल वा मदिरा उत्पादन गर्दा ‘फर्मेन्टेसन’ प्रक्रियाबाट ठूलो मात्रामा कार्बनडाइअक्साइड निस्किन्छ । 

त्यसैले यो उद्योगको मुख्य उत्पादन नभई सह–उत्पादन अर्थात् उद्योगको ‘बाइ–प्रोडक्ट’ हो । 

पहिले यो ग्यास वातावरणमै फालिन्थ्यो । पछिल्लो समय केही उद्योगले आधुनिक प्रविधि जडान गरेर उक्त ग्यास संकलन, प्रशोधन र कम्प्रेस गरी व्यावसायिक रूपमा बिक्री गर्न थालेका छन् । 

यो महङ्गो प्रबिधि भएकाले केही डिस्टिलरीले त्यतिकै खेर फाल्ने र थोरैले मात्र व्यावसायिक उत्पादन गर्ने गरेको उद्योगी सारडा बताउँछन् । 

‘हामीले कोक र बियर उद्योगसँग खरिद सम्झौता गरेरै सीओ–टु प्लान्ट स्थापना गरेका थियौँ,’ सारडा भन्छन्, ‘तर अहिले भारतीय उत्पादन सस्तो दरमा आउन थालेपछि नेपाली उत्पादन बिक्री हुनै छाडेको छ ।’

उद्योगीहरूका अनुसार भारतबाट आयात हुने सीओ–टुमा साढे सात प्रतिशत मात्रै भन्सार शुल्क लाग्छ । 

दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौताअन्तर्गत सहुलियत पाउ“दा भारतीय उत्पादन झन् सस्तो पर्छ ।

त्यसमा पनि न्यून मूल्यको बिल–बिजक प्रयोग गरेर आयात गरिने भएकाले नेपाली उद्योग प्रतिस्पर्धामा टिक्न नसकेको उनीहरूको भनाइ छ ।

सीओ–टु उत्पादनका लागि डिस्टिलरी उद्योगमा निस्किने कच्चा ग्यासलाई विशेष पाइपमार्फत संकलन गरिन्छ । त्यसपछि पानी, सल्फर तथा अन्य अशुद्ध पदार्थ हटाएर ग्यासलाई चिस्याइन्छ । 

ग्यासलाई चिस्याएपछि उच्च दबाबमा सिलिन्डर वा ट्यांकमा भण्डारण गरिन्छ । यही प्रशोधित ग्यास पेय पदार्थ उद्योग, वेल्डिङ उद्योग तथा खाद्य प्रशोधन क्षेत्रमा प्रयोग हुने गर्छ ।

नेपालमा प्रिमियम डिस्टिलरीसहित केही मदिरा तथा इथानोल उद्योगले सीओ–टु संकलन र प्रशोधन गर्दै आएका छन् । 

त्यस्तै केही औद्योगिक ग्यास कम्पनीले पनि तरल कार्बनडाइअक्साइड आपूर्ति गर्छन् । 

भारतमा भने ठूलो मात्रामा इथानोल र मदिरा उत्पादन गर्ने डिस्टिलरी समूहसँगै औद्योगिक ग्यास कम्पनीहरूले सीओ–टु उत्पादन गर्दै आएका छन् । 

भारतीय उद्योगले नेपाललाई ‘डम्पिङ मार्केट’का रुपमा पनि सीओ–टु निर्यात गर्ने प्रवृत्ति देखिएको नेपाली उद्योगीहरूको गुनासो छ । 

डम्पिङ मार्केट भनेको कुनै देश वा कम्पनीले आफ्नो उत्पादनलाई घरेलु बजारको मूल्यभन्दा धेरै सस्तोमा अर्को देश वा स्थानमा बिक्री गर्ने बजार रणनीति हो । 

कम्पनीले यस्तो मार्केटमा माल पठाउँदा कहिलेकाहीँ लागत मूल्यभन्दा पनि कम मूल्यमा पठाउने गर्छन् ।

यस्तो प्रवृत्तिबाट बच्न नेपाली उद्योगीहरू सरकारले मूल्यका आधारमा नभई प्रतिकेजी निश्चित भन्सार शुल्क तोक्नुपर्ने बताउँछन् । 

उनीहरूका अनुसार प्रतिकेजी शुल्क निर्धारण गर्ने हो भने न्यून बिजकीकरण नियन्त्रण हुने, राजस्व बढ्ने तथा स्वदेशी उद्योगको पनि संरक्षण हुन जान्छ । 

‘हाम्रो माग सरकारले मूल्यका आधारमा होइन प्रतिकेजी निश्चित भन्सार शुल्क कायम गरोस् भन्ने हो’ उद्योगी सारडा भन्छन् ।

View : 404

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved