Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कुलमानसँग चिढिए कोशीका पहिचानवादी नेता

उद्‌घोष संवाददाता
१६ पुष २०८२, बुधवार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ आबद्ध उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पहिचानवादी नेता डकेन्द्रसिंह थेगिमसहितका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । 

पहिचानको मुद्दालाई केन्द्रमा राखेर राजनीति गरिरहेका थेगिमले पार्टी विलयको यो निर्णयप्रति आश्चर्य प्रकट गरेका हुन् ।

कोशी प्रदेशको पहिचानवादी आन्दोलनको नेतृत्व गरिरहेका र इलामको उपनिर्वाचनमा सम्मानजनक मत प्राप्त गरेका थेगिमले यो एकताले पहिचानको एजेन्डालाई ओझेलमा पार्ने हो कि चिन्ता व्यक्त गरेका छन् ।

‘हामी कुलमानजीसँग पहिचानको मुद्दा स्वीकार गर्ने सर्तमा साथमा थियौं,’ उनले भने, ‘रास्वपासँग केवल चुनावी गठबन्धन र सहकार्य गर्ने सम्मको कुरा भएको थियो । तर पार्टी नै विलय गर्ने कुनै पूर्वजानकारी थिएन । अब के गर्ने भन्ने विषयमा छलफल जारी छ ।’ 

‘मेरो बुझाइमा हामीले चुनावी गठबन्धन र सहकार्य गर्ने सम्मको मात्र कुरा थियो,’ थेगिमले भने, ‘आफनो पहिचान र अस्तित्व समाप्त गरेर मिल्न सकिदैन भनेर त कुलमानजी हिजो बिहानसम्म बोलिरहनुभएको थियो । तर बेलुका झट्टै एकताको कुरा आयो । उहाँ कसरी सबै विलय गरेर जानुभयो, त्यो विषयमा उहालाई नै सोध्नुपर्छ । हामीलाई यसबारे जानकारी छैन ।’

थेगिमले रास्वपासँगको एकतामा आफ्ना मुख्य एजेन्डाहरू कता परे भन्ने स्पष्ट नभएको प्रश्न उठाएका छन् ।

संघीयता, लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिकताका मुद्दामा रास्वपासँग के सहमति भयो भन्ने कतै उल्लेख नगरिएको उनले जिकिर गरेका छन् । 

पहिचानको पृष्ठभूमिबाट आएको शक्ति रास्वपासँग जाँदा ती मुद्दा कतिसम्म अगाडि बढ्छन् भन्ने कुनै टुंगो नभएको उनको भनाइ छ ।

यो एकता प्रक्रियाप्रति डा महेन्द्र लावतीले पनि स्पष्ट असहमति जनाएको थेगिमले उल्लेख गरेका छन् । 

डा. लावती राप्रपाका दिवंगत नेता पद्मसुन्दर लावतीका छोरा हुन् । तर, उनी लामो समयदेखि पहिचान र संघीयताको वकालत गर्दै आएका व्यक्ति हुन् । 

उज्यालो नेपालको घोषणापत्रमा पहिचान, सामुदायिक समाजवाद र बहुसंस्कृतिवाद उल्लेख थियो, तर अहिले भएको एकतामा यी विषयहरू गायब पारिएको थेगिमले  बताएका छन् ।

पहिचानको मुद्दा बोक्ने नयाँ शक्तिको आवश्यकता महसुस गरेर उज्यालो नेपालमा आबद्ध भएको बताउने थेगिमले अस्तित्व नै मेटेर गरिने एकतालाई स्वीकार गर्न नसकिने संकेत गरेका छन् ।

उनले पहिचानवादी शक्तिहरूसँग चुनावी प्रक्रियामा मोर्चाबन्दी र गठबन्धन गरेर जान सकिने भए पनि विचारहीन एकताको अर्थ नहुने तर्क गरेका छन् ।

इलामको उपनिर्वाचनमा संविधानसभा अध्यक्ष  सुवास नेम्वाङका छोरा सुहाङले एमालेबाट चुनावी सफलता प्राप्त गर्दा कांग्रेसका डम्बर खड्का दोस्रो भएका थिए । 

पहिचानवादी उम्मेदवार थेगिम ११ हजार ४५७ मतसहित तेस्रो भएका थिए ।

२०७९ फागुन १७ मा प्रदेश सभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यही वर्षको चैत ५ देखि कोशीमा आन्दोलन सुरू भएको थियो । 

त्यो आन्दोलनमा एक जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । पहिचानवादीहरू अहिले पनि आन्दोलन जारी रहेको बताउँछन् ।

आन्दोलन जारी रहेको भनिएकै बेला आन्दोलनकै संयोजक थेगिम भने नयाँ राजनीतिक दलको केन्द्रीय सदस्य बनेका थिए । 

यद्यपि, उनी आवद्ध दल नै रास्वपामा मिसिएपछि उनी नैतिक संकटमा परेका छन् । ‘के गर्ने भन्नेबारे छलफल जारी छ’ थेगिमले भने ।

View : 189

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved