सुनसरी : किसानले घाँस र मकैको बीउ पनि अर्को देशबाट तस्करी गर्नु पर्ने बाध्यता आएको छ । नेपालमा पाइए पनि मूल्य अत्यधिक पर्ने भएकाले भारतबाट भन्सार छली गरेर ल्याउने गरेका छन् ।
सुरक्षाकर्मीले आइतबार सुनसरीको सेतुबन्ध भन्सार कार्यालयमा बुझाएको तस्करीका बरामदका सामान मध्ये घाँस र मकैको बीउ पनि भेटिएको छ ।
सशस्त्र प्रहरीको ४ नम्बर गण हेडक्वाटर सुनसरीका सुरक्षा युनिटहरुले पक्राउ गरेका सामानहरुमा किसानका लागि जरुरी पर्ने बीउसमेत पाइएको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक सुधिर खतिवडाका अनुसार लौकहीबाट ८० किलो मकैको बीउ र उल्टीबाट ९ प्याकेट घाँसको बीउ बरामद भएको हो ।
चाडबाडको मौका छोपेर कारोबारीले भन्सार छलीको ब्यवसायलाई तिब्रता दिएको पाइएको छ । दशैंको समयमा सुनसरीका सीमावर्ति क्षेत्रबाट तस्करी अत्यधिक हुने गरेको बताइएको छ । सुनसरी सशस्त्र प्रहरीले लौकही, घुस्की, लाही, हरिपुर, उल्टीलगायतका क्षेत्रबाट बरामद गरेको किराना, बीउ र इलेक्ट्रोनिक्सका सामान गरी ८ लाख रुपैंयाँ बराबरको सामान भन्सार बुझाएको छ ।
सुनसरीका सीमाक्षेत्रमा बिभिन्न आपराधिक गतिबिधि नियन्त्रण गर्न सुरक्षा योजना बनाएर निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । दशैंका बेलामा अति आवश्यक किरानाका सामानसहित लागुऔषधपनि तस्तरी भएका छन् ।
तिहारका लागि दशैंमा नै पटका आयात गरिने गरिएको पाइएको छ । सशस्त्र प्रहरीले कोशी गाउँपालिकाको जुद्धगञ्जबाट दुई वटा मोटरसाइकलबाट ल्याउँदै गरेको एक लाख रुपैंयाँ भन्दा बढी पर्ने पटका नियन्क्रणमा लिएको छ ।
यस्तै शुत्रँबार मात्रै सशस्त्रले सुनसरीका हरिपुर, कप्तानगञ्ज, लौकरी, वशन्तपुर र अमडुवाबाट ४ लाख रुपैंयाँ बराबरको तस्करीको सामान बरामद गरेर भन्सार बुझाएको थियो । किराना सामान, बालबच्चाका खेलौना, कपडा र माछा बरामद गरेर भन्सार बुझाइएको डीएस्पी खतिवडाले बताए ।
कोशी प्रदेशका भारतीय सीमावर्ति क्षेत्रमा गएका वर्षहरुको तुलनामा यस पटकको दशैंमा सशस्त्र प्रहरीले सुरक्षा कडाइ थप मजबुत बनाएको छ ।
View : 116
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved