विराटनगर । कुनैबेला नेपाली कांग्रेसभित्र अवसर पाइरहने कोइराला परिवारका दुई सदस्य डा. संशाक कोइराला र सुजाता कोइराला यसपटकको निर्वाचनमा टिकटविहीन बने ।
पार्टीभित्र देखिएको नयाँ शक्ति सन्तुलनले बीपीपुत्र र गिरिजापुत्री टिकटविहीन बन्दा अर्का सदस्य डा. शेखर कोइराला सामु कोइराला परिवारको राजनीतिक विरासत जोगाउनैपर्ने चुनौती सम्मुखमा छ ।
डा. शेखर मोरङ ६ मा आउदो चुनावमा प्रतिष्पर्धा गर्दैछन् । उनलाई एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्र राय, रास्वपाकी रुविना आचार्य, नेकपा (माओवादी) का कुमार खतिवडा लगायतका उम्मेदवारहरुले चुनावी चुनौती दिइरहेका छन् ।
आफ्नो राजनीतिक अस्तित्व रक्षाका लागि चुनाव जित्नैपर्ने बाध्यतामा रहेका शेखरका लागि यो चुनाव सामान्य संसदीय प्रतिस्पर्धाका रुपमा मात्रै उपस्थित छैन ।
यो चुनाव कांग्रेसभित्रको बदलिदो शक्ति सन्तुलन, कोइराला परिवारभित्रको बेमेल र नयाँ पुस्ताको उदयसँग जुध्ने निर्णायक राजनीतिक घडी बन्ने क्रममा छ ।
कांग्रेसको राजनीतिक इतिहासमा कोइराला परिवार ठूलो योगदान भएको र लामो समय पार्टी उनीहरुकै घरानाको वरिपरि घुम्ने गथ्र्यो ।
त्यसपछि शेरबहादुर देउवाको पोल्टामा पुगेको कांग्रेसलाई यसपटक विद्रोहमार्फत सभापति गगन थापाले आफ्नो पक्षमा पारेका छन् । थापाको विद्रोहले शेखरको सभापति बन्ने चाहनामा ठूलो धक्का दिएको छ ।
विराटनगर र मोरङ कोइराला राजनीतिक विरासतको केन्द्र रहदै आएका छन् । यही ऐतिहासिक पृष्ठभूमिमा अहिले शेखर कोइरालाको राजनीतिक भविष्य मात्र होइन, कोइराला परिवारको सामूहिक विरासत नै प्रश्नको घेरामा परेको छ ।
कांग्रेस राजनीतिमा सक्रिय कोइराला परिवारका तीन मुख्य पात्र (डा शेखर कोइराला, डा शशांक कोइराला र सुजाता कोइराला) बीच पछिल्ला वर्षहरूमा एकता भन्दा दूरी बढ्दै गएको यथार्थ अब लुकाउने विषय रहेन । भलै पछिल्लो समयमा सुजाता र शेखरबीचको व्यक्तिगत सम्बन्ध सुध्रिएको छ ।
यद्यपि राजनीतिक धारणा फरक रहेको प्रमाण विशेष महाधिवेशनपछि प्रष्ट भयो । शेखरले गगनको नेतृत्व स्वीकार नगर्ने बताइरहदा सुजाताले भने खुला रुपमा स्वीकार गरेर जानुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।
कोइराला परिवारमा आएको राजनीतिक फाटो २०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४ औं महाधिवेशनमै देखियो । एउटै परिवारका तीन जना तीन फरक धारमा उभिएका थिए ।
शेखर सभापतिका उम्मेदवार बन्दा शशांक शेरबहादुर देउवा पक्षमा उभिएर केन्द्रीय सदस्यमा सीमित भए । सुजाता प्रकाशमान सिंह समूहबाट उपसभापतिको उम्मेदवार भइन् ।
त्यसअघि मिलेर जाने बताएका उनीहरू महाधिवेशनको मुखमा तीनतिर भएका थिए । शशांक लोकप्रिय मतसहित निर्वाचित भए । शेखर सभापतिमा पराजित भए । सुजाताले पनि जित निकाल्न सकिनन् ।
१४ औं महाधिवेशनपछि शेखरले पार्टीभित्र अर्र्ली महाधिवेशनको माग उठाउँदै आएका थिए । पछि विशेष महाधिवेशनको बहस सुरु भयो । तर अन्तिम समयमा उनी देउवा समूहसंगै उभिएर विशेष महाधिवेशनको विपक्षमा खडा भए ।
यो निर्णयले शेखरको राजनीतिक लाइनबारे पार्र्टीभित्र प्रश्न पनि उठायो । उता सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सार्वजनिक रूपमा बधाई दिइन् । शेखर र शशांकले भने गगन नेतृत्वलाई अझै खुलेर स्वीकार गरिसकेका छैनन् ।
व्यवहारमा भने गगन थापाको हस्ताक्षर भएको टिकट लिएर चुनावी मैदानमा उत्रिनु परेको छ । यसले उनीहरूको अडान र व्यवहारबीचको दूरी झल्काउछ । गगन–विश्वप्रकाशले पार्टी कमाण्ड सम्हाल्दै जाँदा शेखर विस्तारै केन्द्रबाट विस्थापित हुने सम्भावना देखिन थालेको कांग्रेसकै नेताहरू बताउँछन् ।
अझ शेखर समूहमा रहेका धेरै नेता–कार्यकर्ताले् उनको साथ छाडेका कारण उनको राजनीतिक धरातल कमजोर बन्दै गएको विश्लेषणसमेत हुन थालेको छ ।
यसपटकको चुनावमा बीपी पुत्र शशांक र गिरिजाप्रसाद पुत्री सुजाता दुवैले टिकट नपाउँदा शेखर एक्लै कोइराला विरासतको प्रतिनिधि बनेका छन् ।
उनका लागि यो चुनाव जसरी पनि जित्ने र कांग्रेसमा उम्किएको नेतृत्व गर्ने अवसर फेरि खोजी गर्ने माध्यम बन्नसक्छ ।
यद्यपि एउटा उपनिर्वाचनबाहेक कहिल्यै पनि एकै दल र व्यक्ति नदोहो¥याएको मोरङ ६ मा यसपटक शेखरलाई चुनौती धेरै रहेको कांग्रेस कार्यकर्ता नै बताउछन् ।
कतिपय कार्यकर्ताहरु कोइराला परिवारभित्रैको बेमेलले उनीहरु कमजोर रहेको टिप्पणी पनि गरिरहेका छन् ।
कांग्रेसभित्र जब–जब कोइराला परिवारका तीनै सदस्य एउटै मञ्चमा देखिन्छन् ‘अब मिलेर अघि बढ्ने’ प्रतिबद्धता सधैं दोहोरिन्छ । तर मञ्चबाट ओर्लिएपछि व्यवहार फेरि फरक देखिन्छ ।
त्यही कमजोरीले कोइराला परिवारको विरासत संकटमा परेको उनीहरु निकट कार्यकर्ता नै बताउँछन् । यसरी परिवारभित्रको बेमेल, पार्टीभित्रको बदलिदो शक्ति सन्तुलन र नयाँ पुस्ताको उदयबीच शेखर कोइरालाले विराटनगर–मोरङको पुरानो कोइराला विरासत जोगाउन सक्लान् कि नसक्लान् ?
यसपटकको चुनावले शेखरको राजनीतिक भविष्य मात्र होइन, नेपाली कांग्रेसभित्र र आम मानिसमाझ कोइराला ब्रान्डको प्रभाव कति बाँकी छ भन्ने उत्तर पनि दिनेछ ।
View : 216
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved