एनपिएल :
विराटनगर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तरगत शुक्रबारको अन्तिम खेलमा विराटनगर किंग्सले कर्णाली याक्सविरुद्ध संघर्षपूर्ण तर सनसनी जित निकालेको छ । विराटनगरले अन्तिम ओभरको अन्तिम बल सामना गर्नु अघि तीन विकेटको रोमाञ्चक जित निकालेको हो ।
बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दा गुमिसकेको खेल विराटनगरले आफ्नो पक्षमा फर्काएको हो । अन्तिम दुई बलमा चार रन चाहिएको स्थितिमा उनले कर्णालीका नन्दन यादवलाई छक्का प्रहार गरेका थिए ।
टस जितेर ब्याटिङ रोजेको कर्णालीले विराटनगरलाई १६१ रनको लक्ष्यका लागि निम्तो दिएको थियो ।
विराटनगरले १९ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा यो लक्ष्य पूरा गर्दै जारी एनपीएलको दोस्रो सिजनको चौथौं जित सुरक्षित गरेको हो ।
विराटनगरको सुरुआत भने राम्रो थिएन । ओपनर लोकेस बमले ६ रनमा आउट भएपछि खराब समयको सामना गर्न सुरु भयो । लगत्तै जर्ज मुन्से शून्यमा आउट बने ।
दबाबमा परेको विराटनगरका लागि साम हेजलेटले १६ र साहिल पटेलले १९ रन थपे । त्यसपछि आएका बसिरले अन्तिम छक्काको सहायतामा उत्कृष्ट ६२ रनसहित विराटनगरलाई जित दिलाए ।
उनले ४३ बल खेल्ने क्रममा ३ छक्का र ३ चौका प्रहार गरे । विराटनगरका लागि नारायण जोशीले पनि २५ रनको महत्वपूर्ण योगदान गर्दै बसिरस“ग साझेदारी गरेका थिए ।
विराटनगर सामू जितका लागि अन्तिम ओभरमा १० रन आवश्यक थियो । १४औं ओभरसम्म रनका लागि संघर्षरत विराटनगरले त्यसपछि भने गति लिएको थियो । विराटनगरले अन्तिम पाँच ओभरमा थप दुई विकेट गुमाउँदै ७१ रनमै सिमित थियो ।
कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले दुई–दुई विकेट लिए । त्यस्तै पवन सरार्फ, नन्दन यादव र विलियम बोसिस्टोले एक–एक विकेट लिएका थिए ।
पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पञ्चालले सर्वाधिक ६३ र विलियम बोसिस्टोले अविजित ४८ रनका लागि खेले । दुवै ब्याटरले दोस्रो विकेटका लागि उत्कृष्ट ९६ रनको साझेदारी सम्हालेका थिए ।
विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १–१ विकेट लिए ।
View : 219
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved