Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

देशभर डेङ्गी र हैजाका सङ्क्रमित बढ्दै

उद्घोष सम्वाददाता
२६ साउन २०८१, शनिवार

काठमाडौँ, २६ साउन । देशका विभिन्न जिल्लाहरुमा डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वढ्दै गएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा देशभरमा तीन हजार ८४ जना पुगिसकेको छ भने चार दिनयता ७ सय २२ जना डेङ्गी सङ्क्रमित थपिएको उल्लेख गरेको छ । 

साउन २१ मा २ हजार ३ सय ६५ जनामा डेङ्गी पुष्टि भएको थियो ।  यो सङ्ख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको जनाइएको छ । सबैभन्दा बढी डेङ्गी तनहुँमा पाँच सय ८३ जनामा देखिएको उल्लेख छ । काठमाडौँ जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेङ्गी सङ्क्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयले डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको हो । ‘सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । 

४७ मा हैजा पुष्टि

हैजाका बिरामीका सङ्ख्या देशभरमा ४७ पुगेको छ । किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्यूठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताएका छन् । 

उनले ललितपुरमा ३४, काठमाडौँमा २, कैलालीमा ८, प्यूठानमा २  र रुपन्देहीमा १ जनामा हैजा पुष्टि भएको बताए । रासस

View : 219

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved