विराटनगर । कोशी प्रदेशबाट निर्वाचित हुने दुईजना राष्ट्रियसभा सदस्यका लागि मतदान उत्साहपूर्वक भएको छ ।
राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहान ९ बजेदेखि भएको मतदानमा अहिले अपरान्ह ३ बजे सकिएको छ ।
मतदानमा राप्रपाका प्रदेश सांसदहरू (सभामुखसहित) र स्थानीय तहका जनप्रतिनिधिहरू भने मतदानमा सहभागी भएनन् । कोशीमा राप्रपाका ५ जना प्रदेश सांसद कायम छन् । त्यस्तै राप्रपाबाटै स्थानीय तहमा निर्वाचित तीन जना जनप्रतिनिधिले मतदान गरेनन् ।
कोशी प्रदेशका कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मतभारका कारण जित नजिक रहेका छन् । कोशी प्रदेश सभाका ९२ जना प्रदेश सभा सदस्य र २६७ जना पालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेका थिए ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानमा प्रदेश सभाका सांसद ८७ र स्थानीय तहका २५८ जना प्रमुख उपप्रमुखले मतदान गरेका छन् ।
कोशी प्रदेशमा राष्ट्रिय सभाको रिक्त तीनजना सदस्य मध्ये कांग्रेसको कोटामा परेको अन्य तर्फ धनकुटाका सुनिल बहादुर थापा सर्वसम्मत भइसकेका छन् । बाँकी रहेको दलित र महिला सदस्यमा आइतबार निर्वाचन भइरहेको जनाइएको छ ।
निर्वाचनमा नेकपा एमाले र नेकपाका उम्मेदवारबीच प्रतिष्पर्धा रहेको छ ।
कांग्रेस, एमाले र जसपा गठबन्धनबाट एमालेले दलिततर्फ सोमनाथ पोर्तेल र महिलातर्फ रोशनी मेचेलाई उम्मेदवार बनाएको छ । नेकपाले दलिततर्फ खेम सुन्दास र महिलातर्फ नमिता न्यौपाने चुनावी प्रतिष्पर्धामा छिन् ।
कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता कायम भएकोमा ३ जना पालिका प्रमुख, २ जना पालिका अध्यक्ष, १ जना पालिका उपाध्यक्ष र १ जना प्रदेश सांसदले राजिनामा दिएर प्रतिनिधि सभाका उम्मेद्वार बनेका छन् ।
उनीहरूको राजिनामापछि कोशीमा ९२ जना प्रदेशसभा सदस्य र स्थानीय तहका २६७ प्रमुख उपप्रमुख कायम रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख उपप्रमुखको मतभार १९ रहेको छ ।
View : 167
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved