पर्सा, १ असोज । आर्थिक र औद्योगिक नगरीको रुपमा परिचित पर्सा जिल्लामा जीवन बीमाप्रति सर्वसाधारणको आर्कषण न्यून देखिएको छ ।
बीमासम्बन्धी जनचेतनाको कमीले यहाँका सर्वसाधारणमा बीमाप्रतिको आकर्षण न्यून देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा शुल्क सङ्कलनमा पर्साको हिस्सा एक दशमलव ८८ प्रतिशत मात्रै छ ।
प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आर्थिक र औद्योगिक नगरीको रुपमा पर्सा चिनिए पनि जीवन बीमा र निर्जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण न्यून रहेको जानकारी दिए । ‘‘जिल्लामा आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा तर्फ जारी बीमालेख सङ्ख्या १२ हजार ५५ रहेको छ’’, उनले भने, ‘‘जीवन बीमाको सक्रिय बीमालेख सङ्ख्या १२ लाख तीन हजार चार सय ७७ छ ।’’
प्राधिकरणका अनुसार गत आवमा जिल्लामा जीवन बीमाको भुक्तानी सङ्ख्या छ हजार आठ सय २० रहेको थियो । सो अवधिमा दाबी भुक्तानी रकम ८७ करोड ८८ लाख रहेको छ ।
जिल्लामा आव २०८०/८१ सम्म जारी निर्जीवन बीमा लेख सङ्ख्या ८४ हजार सात सय २३ रहेको छ ।
सो अवधिमा निर्जीवन बीमातर्फ बीमा शुल्क सङ्कलन एक अर्ब १३ करोड १६ लाख रहेको छ । त्यस्तै निर्जीवन बीमा शुल्क सङ्कलनमा जिल्लाले दुई दशमलव ७५ प्रतिशत मात्र हिस्सा ओगटेको छ ।
जिल्लामा निर्जीवन बीमाको दाबी भुक्तानी सङ्ख्या दुई हजार पाँच सय ६७ रहेको छ । सो अवधिमा निर्जीवन बीमाको दाबी भुक्तानी रकम ६४ करोड ८२ लाख रहेको छ । रासस
View : 80
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved