Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

विराटनगर–२ को कांग्रेस सभापतिमा पाठकको सशक्त तयारी

उद्‌घोष संवाददाता
२७ मंसिर २०८२, शनिवार

विराटनगर । विराटनगर महानगर समिति वडा नम्बर २ को सभापतिमा युवा नेता अनुराग पाठकले तयारी अघि बढाएका छन् । उनले वडाका सबै उमेर समूहका क्रियाशील सदस्यहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका पाठक सरल र मिजासिलो व्यवहारका कारण युवामाझ लोकप्रिय रहेका छन् ।

मुलुकको परिवर्तित राजनीतिक अवस्था र राजनीतिमा युवाहरूको सहभागिता घट्दै गएकाले आफू पहिल्यैदेखि कांग्रेसको युवा कार्यकर्ता भएको नाताले वडा सभापतिका लागि तयारी गरिरहेको उनले बताए ।

जेन–जी उमेरदेखि ज्येष्ठ उमेर समूहसम्म आफू लोकप्रिय रहेको उनले दाबी गरे ।

सबै उमेर समूहलाई कांग्रेसमा जोड्नका लागि आफू सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए ।

‘सबैलाई पार्टीमा कसरी जोड्न सकिन्छ भनेर म अहिले कांग्रेसका कार्यकर्ताहरूसँग छलफल गरिरहेको छु,’ पाठकले भने, ‘समयको मागसँगै अब युवाहरूले नै राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने जिम्मेवारी पूरा गर्छु, सोहीअनुसार वडा सभापतिका लागि तयारी पनि अघि बढाइरहेको छु ।’

पाठक महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा नेपाल विद्यार्थी संघमा रहेर राजनीतिक अभियानमा संलग्न रहेका छन् । नेविसंघको जिल्ला समितिमा समेत काम गरिसकेका छन् ।

आफूले वडा सभापतिका रूपमा जिम्मेवारी पाएको खण्डमा वडामा रहेका सबै कांग्रेस कार्यकर्तालाई एकजुट बनाएर अघि बढ्ने बताए । साथै, आफू वडाभित्र पार्टीको काममा जुट्ने र आगामी स्थानीय निर्वाचनमा वडा अध्यक्षका इच्छुक उम्मेदवारहरूलाई समेत जिम्मेवारी दिएर जिताउने काममा सक्रिय रूपमा सहयोग गर्ने बताए ।

हाल नेपाली कांग्रेस मोरङको युवा तथा खेलकुद विभागका सदस्य रहेका पाठकले विराटनगरका विभिन्न स्थानमा हुने डुबानबाट प्रभावितहरूलाई सहयोग गर्नेदेखि कोरोना महामारीको विषम परिस्थितिमा पनि जनतामाझ गएर सहयोग गरेको बताए ।

आफूले राजनीतिलाई पेसाका रूपमा ठान्ने मनोवृत्तिको अन्त्य गर्नुपर्नेमा स्पष्ट रहेको बताए । अहिलेको समयमा जनताले कुशल युवा नेतृत्वको खोजी गरिरहेको र त्यसका लागि आफू योग्य रहेको उनले बताए । आम नेता–कार्यकर्ताको साथ र समर्थन रहेको दाबी गर्दै वडामा कांग्रेसलाई बलियो बनाउन वडा सभापतिमा उम्मेदवारी रहने जानकारी दिए ।

View : 873

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved