एमाले मोरङमा कारवाही प्रकरण
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले गठन गरेको तीन सदस्यीय छानबिन आयोगले मंगलबारबाट बयानबाजी लिन सुरु गरेको छ । आयोगले एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापासहितका पदाधिकारीबाट बयान लिन सुरु गरेको हो ।
आयोगले बोलाएपछि आफूहरू मंगलबार बिहान ९ बजे बयान दिन पार्टी कार्यालय पाञ्चाली पुगेको अध्यक्ष थापाले स्वीकारे । आयोगले थापासहित महानगर कमिटीका उपसचिव नवराज नेपाल र वडा नं. ३ कमिटीका अध्यक्ष लालमणि भट्टराईसँग पनि झण्डै अढाई घण्टा नै बयान लिएको छ ।
भट्टराई भर्खर सम्पन्न मानगढ खानेपानी आयोजनाको उपभोक्ता समितिको अध्यक्ष पदका उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा जिल्ला कमिटीले पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर घिमिरेलाई र महानगर कमिटीले लालमणि भट्टराईलाई तोकेपछि विवाद सिर्जना भएको थियो ।
सो प्रकरणमा आफूलाई बिनावित्थाको आरोप लगाएर कारवाहीको पत्र थमाइएको महानगर कमिटी अध्यक्ष सागर थापाले गुनासो गर्दै आएका छन् । मानगढ खानेपानी निर्वाचनका बेला आफूले पटक–पटक पार्टीको आधिकारिक उम्मेदवार को हो पत्र दिन अनुरोध गरेको थापानिकट एक कार्यकर्ता बताउँछन् ।
‘पार्टीको आधिकारिक उम्मेदवार को हो लेखेर दिनुस् न त, मातहतका कार्यकर्तालाई सम्झाउन–बुझाउन सजिलो हुन्छ’ थापा निकट ती कार्यकर्ता भन्छन्, ‘त्यसरी लिखित पत्र माग्दा आलटाल गर्ने, फलानो चाहिँ पार्टीको उम्मेदवार हो पनि भन्न नसक्ने, अनि अहिले अनेक वहाना गरेर कारवाहीको पत्र थमाउने ?’
उनी एमालेभित्र एउटा खास व्यक्तिलाई ठेगान लगाउनका लागि निष्ठावान युवा कार्यकर्तालाई जबर्जस्ती अचानोमा हालिएको गुनासो गर्छन् ।
पछिल्लो समय एमाले मोरङमा लामो समयसम्म रजगज गरेका विनोद ढकाललाई कमजोर पार्न उनी समर्थित कार्यकर्तालाई छानीछानी कारवाही थालिएको छ ।
ढकाल बलियो भए भने टेर्दैनन् भनेर उनलाई कसैगरी पनि साइजमा ल्याउन नेकपा एमालेको ठूलै पंक्ति लागिपरेको स्रोतको भनाइ छ ।
View : 226
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved