Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
खेलकुद

इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

उद्घोष सम्वाददाता
१३ चैत २०८०, मङ्गलवार

सुनसरी, १३ चैत । इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्टिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार राती इटहरी रङ्गशालामा भएको खेलमा  एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटका आधारमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । पेनाल्टीमा त्रिभुवन आर्मीका जितेन्द्र कार्की, नवयुग श्रेष्ठ र फत्तेमान घलेले गोल गरे भने कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोकेका थिए ।

बिर्तामोडका विशाल दर्जी र मौसम सुब्बाको प्रहार गोलमा परिणत भयो भने विवेक पौडेल, आशिष चापागाईँ र देवेन्द्र तामाङको प्रहार विफल भएको थियो । 

निर्धारित समयको ८१औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईँले पेनाल्टीमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित भएर १० हजार नगद हात पारेका थिए । 

मंगलबार अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी) बीच हुँदैछ । आगामी शनिबार हुने फाइनलमा विजेताले नगद १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउनेछन् ।

View : 35

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved