विराटनगर । आरती स्ट्रिप्स प्रालिले कम्पनी बन्द हुने र नेपालबाट बाहिरिने भन्ने हल्ला निराधार भएको जनाएको छ । मोरङको बूढीगंगा टंकिसिनवारीस्थित यो बहुराष्ट्रिय कम्पनीले भारतीय नीतिका कारण कम्पनी बन्द हुने भनाइ सत्य नभएको जनाएको हो ।
उद्योगका उपमहाप्रबन्धक जीवन तिम्सिनाले कम्पनीको आर्थिक अवस्था बलियो रहेको र बजारमा फैलिएका नकारात्मक अफवाहहरूको कुनै आधार नरहेको बताएका हुन् ।
शनिबार उद्घोष दैनिकसँगको कुराकानीमा तिम्सिनाले कम्पनीको अझ व्यवस्थित रूपमा अगाडि बढ्दै आगामी दिनमा थप लगानी विस्तार गर्ने योजना रहेको बताएका छन् ।
‘हाम्रो वित्तीय अवस्था मजबुत छ, आन्तरिक खपत र बिक्रीमा पनि अगाडि छौं,’ उपमहाप्रबन्धक तिम्सिना भन्छन्, ‘निर्यातमा कहिलेकाहीँ असहजता हुन सक्छ, तर यसैका आधारमा उद्योग बन्द हुँदैन ।’
तिम्सिनाले आर्थिक वर्ष २०८१–०८२ को अवधिमा कम्पनीले १८ अर्ब ५० करोड रुपैया“ बराबरको कारोबार गरेको बताए । यसमध्ये ९ अर्ब ९४ करोड रुपैयाँको निर्यात र ८ अर्ब ४७ करोड रुपैयाँको आन्तरिक बजारमा कारोबार भएको छ ।
कम्पनीले सोही आर्थिक वर्षमा राज्यलाई करिब १ अर्ब १० करोड रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) बुझाएको छ ।
उद्योगको वार्षिक कारोबार र लगानीका आँकडाहरूले पनि कम्पनी कमजोर नभएको र कम्पनी बन्द हुने हल्ला निराधार भएको तिम्सिना बताउँछन् ।
‘वित्तीय रूपमा सशक्त र राज्यप्रति उत्तरदायी रहेको कम्पनी बन्द हुने र देश छाडेर जाने भन्ने हल्ला कसरी फैलियो, हामी अचम्भित भएका छौं’ तिम्सिनाले भने ।
आरती स्ट्रिप्सको यात्रा सन् २००० मा सुरु भएको हो । चार भारतीय कम्पनीहरूको संयुक्त लगानीमा स्थापित यो कम्पनीले विराटनगरनजिकको टंकिसिनवारीमा आफ्नो कारखाना स्थापना गरी जस्तापाता उत्पादनबाट व्यावसायिक गतिविधि सुरु गरेको हो ।
यो उद्योगले नेपालको निर्माण उद्योगको मागलाई ध्यानमा राख्दै आफ्नो उत्पादनको दायरा बढाउँदै गएको पाइन्छ ।
सन् २०१२ मा कम्पनीले सादा तथा रङ्गीन जस्तापाता(पीपीजीआई) उत्पादनमा हात हालेको यो कम्पनीले त्यसको एक वर्षपछि सन् २०१३ मा एमएस पाइपको उत्पादन सुरु गरेको थियो ।
सन् २०१९ मा कम्पनीले आफ्नो उत्पादन क्षमतामा ठूलो विस्तार गरेर वार्षिक २ लाख मेट्रिक टन उत्पादन क्षमताको टीएमटी बार युनिट थप ग¥यो । टीएमटी बारको उत्पादनले कम्पनीलाई नेपालको स्टिल बजारमा एक प्रमुख खेलाडीको रूपमा स्थापित गर्न मद्दत पुर्याएको थियो ।
कम्पनीले उत्पादन प्रक्रियालाई थप दक्ष र आधुनिक बनाउन नयाँ प्रविधि र उपकरणमा निरन्तर लगानी गर्दै आएको छ ।
हालै मात्र कम्पनीले कोल्ड रोलिङ मिल (सीआरएम) समेत विस्तार गरी आफ्नो उत्पादन प्रक्रियालाई थप परिष्कृत बनाएको छ । यसले पनि कम्पनी आफ्नो भविष्यप्रतिको प्रतिबद्ध रहेको स्पष्ट हुने तिम्सिना बताउँछन् ।
सन् २०१३ सम्ममा १ अर्ब २ करोड रुपैयाँको लगानी भएको कम्पनीमा अहिले ७ अर्ब रुपैयाँ बराबरको लगानी भइसकेको छ । कम्पनीले आगामी दिनमा थप लगानी विस्तार गर्ने योजना बनाएको छ ।
प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ११०० जना कर्मचारी कार्यरत रहेको यो उद्योग पूर्वी नेपालको औद्योगिक क्षेत्रमा एक ठूलो रोजगारदाता कम्पनी पनि हो ।
कम्पनीले वार्षिक ५० करोड रुपैयाँ बराबरको बिजुली खपत गर्छ । यसबाट कम्पनीको ठूलो औद्योगिक क्षमता र देशको ऊर्जा खपतमा पनि महत्वपूर्ण भूमिका रहेको पनि प्रष्ट हुने तिम्सिना दावी गर्छन् ।
आरती स्ट्रिप्सले अहिले भइरहेको सात अर्बको लगानीलाई थप व्यवस्थित बनाउने र भविष्यमा नयाँ प्रविधि र उत्पादनहरूमा लगानी गर्दै जाने नीति लिएको छ ।
उद्योगको निरन्तर विस्तार र नेपालको औद्योगिक क्षेत्रमा यसको भूमिका अझै महत्वपूर्ण हुनेमा शंका नगर्न आग्रह गर्दै तिम्सिनाले प्रतिकुल अवस्थामा कम्पनी बन्द हुने भ्रम सिर्जना भएकोमा दुःख व्यक्त गरेका छन् ।
नेपालमा विदेशी लगानी भित्राउनका लागि आरती स्ट्रिप्स एक सफल उदाहरण भएको उल्लेख गर्दै उनले यो कम्पनीको सफलताले अन्य विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा लगानीका लागि आकर्षित गर्न सक्ने बताए ।
बहुराष्ट्रिय कम्पनी भएकाले बेलाबेला द्वि–देशीय वा बहुपक्षीय समस्याको समाधानका लागि कूटनीतिक र नीतिगत पहल गर्नुपर्ने आवश्यकता उनी औंल्याउँछन् ।
विगत केही वर्षदेखि नेपाली उद्योगहरू विभिन्न प्रकारका चुनौतीहरूबाट गुज्रिरहेका छन् ।
कहिले सरकारको नीतिगत अस्थिरता कहिले बजेटमा भएको विभेदकारी व्यवस्था र कहिले बाह्य बजारको अवरोधले उद्योगहरूलाई प्रभावित बनाएको छ । यस्तो अवस्थामा कुनै पनि उद्योग बन्द हुने खबरले औद्योगिक वातावरणलाई थप त्रसित बनाउन सक्छ ।
आरती स्ट्रिप्सको हकमा पनि यही भएको विश्लेषकहरू बताउँछन् । ‘भारतीय नीतिको कारण निर्यात प्रभावित हुँदा नकारात्मक हल्लाले बजार पायो । तर, कम्पनीको आर्थिक अवस्था र लगानीको तथ्याङ्कले ती हल्लामा कुनै सत्यता नभएको पुष्टि गरेको छ ।
यस्ता हल्लाहरूले लगानीकर्ता, कर्मचारी र बजारमा नकारात्मक प्रभाव पार्ने हुँदा सबै पक्ष सचेत हुनुपर्छ’ तिम्सिनाले भने ।
View : 465
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved