Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

प्रदेशसभा बैठक : साना किसानलाई सहुलियतपूर्ण कर्जाको माग

उद्घोष सम्वाददाता
२६ मंसिर २०८०, मङ्गलवार

विराटनगर : कोशी प्रदेश सभाका सांसदहरुले साना किसान र व्यवसायीहरुलाई सहज रुपमा कर्जा उपलब्ध गराउनु पर्नेदेखि शिक्षालयहरुमा प्राविधिक शिक्षाको सुनिश्चित गर्न माग गरेका छन् । 

सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै नेकपा एकीकृत समाजवादीकी सांसद खिनु लङ्वा लिम्बूले सरकारले बजेट प्रतिस्थापन ऐनमा कृषि उत्पादन, प्रशोधन, साना किसान र व्यवसायीहरुलाई सहज बनाउन सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने उल्लेख गरिएको भन्दै त्यसको कार्यान्वयन गर्न माग गरिन् ।

उनले इलाममा किसानहरुले उत्पादन गरेको दूध,
घ्यू, चिज बिक्री हुन छाडेको र साना डेरीहरु समस्यामा पर्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

एमालेकी सांसद गीता रेग्मीले आइतबार साँझ त्रियुगा नगरपालिका–११ गाईघाटमा भएको आगलागीको घटनामा डेढ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको भन्दै घटनाको छानबिन गर्न माग गरिन् । माओवादी केन्द्रकी सांसद गीता तिम्सिनाले कोशी प्रदेश सभामा रिक्त रहेको सभामुख नियुक्तको प्रक्रिया तुरुन्त अघि बढाउन माग गरिन् ।

उनले यसअघि माओवादी केन्द्रबाटै सभामुख बनेका बाबुराम गौतमले राजिनामा दिएपछि सभामुख पद रिक्त रहेकोले नयाँ सभामुख चयन प्रक्रिया सुरु गर्नुपर्ने बताइन् ।

एमालेका सांसद तिलचन पाठकले अस्पतालहरुबाट बिरामीहरुको उपचारमा हेलचेक्र्यााई हुने गरेको घटनाहरु सार्वजनिक हुने गरेको गुनासो गरे । एमालेकै सांसद ललिताकुमारी चौधरीले मोरङको ग्रामथान गाउँपालिका अन्तरगतका विभिन्न विद्यालयहरुमा प्राविधिक शिक्षा अध्ययनको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

उनले कृषि, अटो मोबाइल र कृषि यन्त्रहरुको मर्मत सम्भार गर्नसक्ने गरी व्यवहारिक शिक्षा अध्ययनको व्यवस्था गर्नुपर्ने बताइन् ।

माओवादी केन्द्रकी सांसद सपना दर्जीले अस्पतालको लापरवाहीले उपचारमा लगिएका व्यक्तिलाई मृत घोषणा गरेको दाबी गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरिन् ।

View : 97

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved