Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि पाख्रीबासका मेयरले मन्त्रालयलाई लेखे आक्रोशपूर्ण पत्र

उद्‌घोष संवाददाता
२३ मंसिर २०८२, मङ्गलवार

विराटनगर । केही समयअघि संघीय सरकारलाई अनौपचारिक शैलीमा पत्र लेखेर धरानका मेयर हर्क साम्पाङले चर्चा बटुलेका थिए । 

यसपटक धनकुट्टा पाख्रीबासका मेयरले भने आक्रोशपूर्ण शैलीमा पत्र लेखेर अर्को चर्चा कमाएका छन् । मेयर ज्ञानबहादुर गुरूङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्र अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।

पत्रमा मेयर गुरूङले प्रमुख प्रशासकीय अधिकृत छिटोछिटो फेर्ने मञ्त्रालयको कार्यशैलीप्रति आक्रोश प्रकट गरेका छन् । पत्रमा व्यक्त भावनाले मन्त्रालयप्रति स्थानीय सरकार कतिसम्म क्रुद्ध रहेछ भन्ने देखाउँछ । 

पत्रमा मेयर गुरूङले प्रमुख प्रशासकीय अधिकृत फेरिएको फेरियै गर्दा नगरपालिकामा ‘धान फल्न, दाइँ गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाईभैसी व्याउन, दूध उत्पादन गर्न, सिंचाई गर्न, फलफूल लगाउन फूल्न, फल्न र सोको निकासा गरी विक्रीवितरण गर्न कुनै समस्या नरहेको’ भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले बरू प्रत्येक महिनामा वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक–एक जना प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भनेका छन् ।

पाख्रीबास नगरपालिकाको पत्र संख्या २०८२–०८३, मिति  २०८२–०८–२२ र चनं ९९३ भएको पत्रमा जानकारी दिइएको विषय उल्लेख छ ।

पत्रमा मेयर गुरूङ लेख्छन् ‘उपर्युक्त सम्बन्धमा तहाँ मन्त्रालयको पसं २०८२–८३, चनं १०१७ र चनं १०४७, मिति २०८२–८–१७ को पत्र बोधार्थको रूपमा प्राप्त भई व्यहोरा अवगत भयो । 

सो सम्बन्धमा यस पाख्रीवास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाइँ गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैसी व्याउन, दूध उत्पादन गर्न, सिंचाइ गर्न, फलफूल लगाउन फूल्न, फल्न र सोको निकासा गरी विक्रीवितरण गर्न कुनै समस्या नरहेकोले तहाँ मन्त्रालयबाट प्रत्येक महिना–महिनामा वा सम्भव भए दिनदिनै छुट्टाछुट्टै एक–एक जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकी पठाउँदा पनि फरक नपर्ने व्यहोरा जानकारीको लागि अनुरोध छ ।’ 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारलाई पनि बोधार्थ दिइएको पत्रको विवरण हो यो । स्थानीय सरकार प्रमुखले संघीय सरकारको मन्त्रालयलाई किन यस्तो पत्र लेख्नुपर्ने भयो भनेर मेयर गुरूङलाई सोध्न फोन सम्पर्क गरे पनि उनी सम्पर्कमा आएनन् । यसबारे उपमेयर नम्रता गौतमसँग कुरा गर्दा नगरपालिकाले दिक्क भएर यस्तो पत्र लेख्नुपर्ने अवस्था आएको बताइन् । 

‘प्रमुख प्रशासकीय अधिकृत फेरिएको फेरियै गरेपछि मेयर सा’बले यस्तो पत्र पठाउनुभएको हो,’ उनले भनिन्, ‘हुन पनि हामीलाई काम गर्नै असहज हुने गरी मन्त्रालयले कर्मचारी फेरेको फेर्यै गरिदिन्छ ।’ 

उपमेयर गौतमका अनुसार २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित भएर गुरूङ नेतृत्वको टोली नगरपालिका आउ“दा प्रकाशराज पौडेल प्रमुख प्रशासकीय अधिकृत थिए । त्यसपछि बोर्खबहादुर तामाङले वर्ष दिनजति निमित्त भएर जिम्मेवारी सम्हाले । 

त्यसपछि खगेन्द्र सुवेदी आए । उनको पनि सरूवा भएपछि आएका पुरूषोत्तम ढकालको पनि २०८१ फागुनमा सरूवा भयो । गएको चैत ७ मा नगरपालिकामा हाजिर भएका विज्ञान कोइरालाको पनि यसपटक सरूवा भएको छ ।

उनी इलामको सूर्योदय नगरपालिका जाने भएपछि सुनिल पौडेल नयाँ प्रमुख प्रशासकीय अधिकृतमा रूपमा आउने भएका छन् । 

यसरी बारम्बार प्रमुख प्रशासकीय अधिकृत फेरिएको आक्रोशमा मेयर गुरूङले यस्तो पत्र लेखेको र पत्र मन्त्रालयलाई पठाइसकिएको नगरका एक कर्मचारीले जानकारी दिए ।

View : 238

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved