प्रतिनिधिसभा चुनाव
विराटनगर । प्रतिनिधिसभाको आगामी निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये धेरैले चासो दिएर हेरिरहेको ठाउँ हो सुनसरी १ । अहिलेसम्म भएका हरेक संसदीय निर्वाचनमा वामपन्थी शक्तिहरुले जित्दै आएको यो क्षेत्रमा यसपटक २६ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
सुनसरी १ को प्रमुख शहरी इलाका हो धरान उपमहानगर । प्रसंग त्यही उपमहानगरबाटै थालौं । २०७९ को स्थानीय तह निर्वाचनपछि सुनसरीको धरान उपमहानगरपालिका राजनीतिक रूपमा असहज अवस्थामा पुग्यो ।
मेयर हर्क साम्पाङ र अन्य जनप्रतिनिधिहरूबीचको मतभेद नियमित जस्तै भयो ।
कार्यपालिका बैठकहरूमा मेयरको धारणा एकातिर हुन्थ्यो भने बाँकी प्रतिनिधिहरूको सोच अर्कैतिर देखिन्थ्यो । यो दूरी साम्पाङले मेयर पद छाड्ने समयसम्म कायमै रह्यो ।
उनले पदत्याग गर्नेबेलाको दृश्य फरक थियो ।
साम्पाङले औपचारिक बिदाइ सौहार्दपूर्ण रूपमा लिए । त्यसअघिसम्म भने बैठकमा फरक मत व्यक्त हुनासाथ उनी प्रायः असन्तुष्ट देखिन्थे ।
असहमत हुने जनप्रतिनिधिमाथि उनले बैठकभित्र मात्र होइन, बाहिर निस्किएपछि मिडिया र सामाजिक सञ्जालमार्फत पनि कटाक्ष गर्ने गरेका थिए ।
स्थापित दलहरूलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवारका रूपमा मेयर बनेका साम्पाङको लोकप्रियता त्यतिबेला निकै उचाइमा थियो ।
यही कारण धेरै जनप्रतिनिधि बैठकमा असहमति जनाए पनि सार्वजनिक रूपमा उनको विपक्षमा बोल्न हच्किन्थे । यद्यपि धरानमा केही प्रतिनिधि यस्ता पनि थिए, जो मेयरसँग बैठकभित्र मात्र होइन, सार्वजनिक रूपमा पनि टक्कर लिन पछि हट्दैनथे । तिनैमध्ये एक थिए धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई ‘मनोज ।’
एक कार्यपालिका बैठकमा मेयर साम्पाङले माओवादीबाट निर्वाचित वडाध्यक्ष भट्टराईलाई लक्षित गर्दै भनेका थिए ‘यहँ“ मैले भनेअनुसार नै हुन्छ । तपाईंले भनेअनुसार गर्न अर्को चुनाव जितेर आउनु ।’
त्यसै बैठकमा चर्को बहस चलिरहेका बेला भट्टराईले जवाफ फर्काएका थिए ‘हुन्छ, चुनाव लडौं । तपाईं जुन पदमा उठ्नुहुन्छ, म पनि त्यही उठेर जितेर देखाइदिन्छु ।’ त्यो तिक्त संवादपछि तीन वर्षको अवधिमा धरानकमा धेरै राजनीतिक परिवर्तन आइसकेको छ ।
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका हर्क साम्पाङले श्रम संस्कृति पार्टी स्थापना गरे र ‘प्रधानमन्त्री बन्ने’ घोषणा गर्दै मेयर पद छाडेर प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् ।
उता, कार्यपालिका बैठकमा मेयरलाई खुलेर चुनौती दिने वडाध्यक्ष भट्टराई आबद्ध माओवादी केन्द्रमा अन्य घटकहरू मिसिएर ‘नेपाली कम्युनिष्ट पार्र्टी’ गठन भएको छ । सोही पार्टीबाट भट्टराई पनि सुनसरी–१ कै प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी–१ मा प्रायः सबै प्रमुख दल र स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका छन् ।
यस निर्वाचन क्षेत्रमा धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ तथा रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ समेटिएका छन् ।
सुनसरी–१ मा कुल १ लाख ५० हजार ३९३ मतदाता छन् । यसपटक सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ, नेकपा एमालेका टीकाराम लिम्बू, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङसहित उम्मेदवारहरू चुनावी मैदानमा छन् ।
यहा राजनीतिक दलबाट १९ जना र स्वतन्त्र ७ जना गरी जम्मा २६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । २०४८ सालयताका निर्वाचन परिणाम हेर्दा सुनसरी–१ लाई वामपन्थी प्रभाव बलियो रहेको क्षेत्रका रूपमा लिइन्छ ।
हालसम्म भएका सबै संसदीय र दुवै संविधानसभा निर्वाचनमा यहाँबाट वामपन्थी पृष्ठभूमिका उम्मेदवार नै विजयी भएका छन् ।
२०४८ मा एमालेका मनमोहन अधिकारीले जितेपछि २०५१ मा एमालेकै लीला श्रेष्ठ सुब्बा र २०५६ मा कुन्ता शर्माले विजय हासिल गरेका थिए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने एमालेको जितको शृंखला तोड्दै माओवादीका किरणकुमार राई विजेता बने ।
२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेले पुनः विरासत फर्काउँदै कृष्णकुमार राईलाई जितायो । २०७४ मा पनि एमालेले सफलता दोहो¥याउदै जयकुमार राईलाई विजयी बनायो ।
२०७९ मा भने सुनसरी–१ मा विजेता फेरिए पनि वाम पृष्ठभूमिको निरन्तरता टुटेन । त्यसबेला एमालेको समर्थनमा जनता समाजवादी पार्टीका अशोक राई विजयी बने ।
उनी यसअघि एमालेकै उपाध्यक्ष रहिसकेका नेता हुन् । यसरी वामपन्थी दल वा तिनको समर्थन प्राप्त उम्मेदवारले मात्रै जित्दै आएको यस क्षेत्रमा यसपटक धेरै दल र उम्मेदवारहरू जितको दाबीका साथ मैदानमा छन् ।
तीमध्ये मेयर पद छाडेर ‘प्रधानमन्त्री बन्ने’ उद्घोष गरेका हर्क साम्पाङका कारण सुनसरी–१ थप चर्चामा छ । धरानको मेयर बनेपछि श्रम अभियानमार्फत देशव्यापी परिचित बनेका साम्पाङ सोही अभियानको प्रभाव चुनावी नतिजामा देखिने विश्वासमा छन् ।
एमालेका टीकाराम लिम्बू पुरानो विरासत फर्काउने दाबी गरिरहेका छन् भने २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ दोस्रो बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ यसपटक पहिलो बन्ने आत्मविश्वास देखाइरहेकी छन् ।
उता, कांग्रेसका सुजेन्द्र तामाङ पनि यसपटक सुनसरी–१ मा नयाँ इतिहास लेखिने दाबी गर्दै चुनावी मैदानमा छन् । सुनसरी–१ जस्तै धरान उपमहानगर पनि लामो समयसम्म एमालेको बलियो किल्ला मानिन्थ्यो ।
२०७६ को स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले एमालेको त्यो किल्ला भत्काउँदै पहिलोपटक तिलक राईलाई मेयर बनाएको थियो ।
उपनिर्वाचनमा दिएको त्यो ‘सरप्राइज’ लाई धरानले २०७९ मा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई जिताएर पुनः दोहोर्याएको छ । उपमेयर निर्वाचनमा पाएको त्यही सफलता संसदीय चुनावमा पनि दोहोर्याउने दाबी गर्दै साम्पाङ अहिले चुनावी अभियानमा छन् । चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूको दाबी त सदाबहार नै हो । तर, अन्तिम निर्णय भने मतदाताले फागुन २१ गते गर्नेछन् ।
गठबन्धनविहीन यसपटकको चुनावमा सुनसरी–१ मा प्रतिस्पर्धा खुला देखिन्छ । पूर्व मेयर र वडाध्यक्षबीचको प्रत्यक्ष चुनावी भिडन्तका रूपमा पनि यस क्षेत्रको चर्चा भइरहेको छ । निकट विगतको चुनावी गणित हेर्दा यहाँ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बलिया देखिन्छन् ।
२०७९ मा एमालेको समर्थनमा विजयी बनेका अशोक राईले १७ हजार ५९ मत प्राप्त गर्दा रास्वपाकी गोमा तामाङले १६ हजार ६ सय ६ मतसहित दोस्रो स्थान हासिल गरेकी थिइन् ।
त्यो निर्वाचनमा सुनसरी–१ मा हर्क साम्पाङ र उनको समूहले रास्वपा उम्मेदवार तामाङलाई समर्थन गरेका थिए । तर, यो निर्वाचनसम्म आइपुग्दा साम्पाङ र रास्वपाबीचको सम्बन्ध चिसिएको छ ।
त्यसमाथि साम्पाङले आफ्नै दलसमेत गठन गरिसकेका छन् ।
लगभग उस्तै मताधार भएका श्रम संस्कृति पार्टी र रास्वपासँगै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी पनि यहाँका प्रमुख प्रतिस्पर्धी हुन् । २०७९ मा प्रत्यक्षतर्फ माओवादीका मुक्सामहाङ लिम्बू १३ हजार ८७ मतसहित तेस्रो भएका थिए ।
समानुपातिकतर्फ भने सुनसरी–१ मा एमाले पहिलो दल बनेको थियो । एमालेले २० हजार ९८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १७ हजार २७१ मतसहित दोस्रो स्थान हासिल गरेको थियो ।
कांग्रेस ११ हजार ७५० मतसहित तेस्रो, राप्रपा ९ हजार ७६८ मतसहित चौथो र माओवादी ४ हजार ६५६ मतसहित पाचौं स्थानमा रहेका थिए ।
प्रत्यक्षमा विजयी बनेको जनता समाजवादी पार्टी, नेपालले समानुपातिकतर्फ ३ हजार ६८२ मत प्राप्त गरेको थियो भने नेकपा एसले १ हजार ६०९ मत पाएको थियो ।
View : 284
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved