Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सात भारतीयसहित २७ जुवाडे धरौटीमा छुटे, सुनसरीमा म्याद थप

उद्घोष सम्वाददाता
२१ कार्तिक २०८१, बुधवार

विराटनगर । तिहारमा जुवा खेल्दै गरेको अवस्थामा विराटनगरमा पक्राउ परेका २७ जना जुवाडे मंगलबार धरौटीमा छुटेका छन् । विराटनगरका दुई ठाउँबाट उनीहरू पक्राउ परेका थिए ।

विराटनगर–१६ मा लक्ष्मीपूजाका दिन सात भारतीय नागरिकसहित १७ जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको थियो । 

उनीहरू सबै साढे ५ हजार रूपैयाँ धरौटी राखेर रिहा भएको प्रहरीले बताएको छ । जुवा खेल्न सीमापारि जोगवनीबाट उनीहरू विराटनगर आएका थिए ।

जोगवनी ३ का बिक्रमकुमार दास, प्रेमकुमार राम, रामकुमार दास, सञ्जयकुमार दास, अमित चौधरी, ओपिन्दर कुमार र कमल सहनी पक्राउ परेका थिए ।

अन्य १० जनामा विराटनगर–१६ का हरेराम चौधरी, सुधीर महतो, अजय विश्वकर्मा, रोहित चौधरी, सोनु तत्मा, रविकुमार सरबरिया, सुरेशकुमार चौधरी, आशिष चौधरी र जितनकुमार साहसँगै छुटेको प्रहरीले बताएको छ ।

भारतीय नागरिकहरू पनि भएकाले तिहारमा कसैलाई पनि हाजिरी जमानीमा प्रहरीले नछाडी हिरासतमा राखेको थियो ।

विराटनगर–११ संगम पार्टी प्यालेसबाट गत शुक्रबार पक्राउ परेका १० जना भने भोलिपल्टै शनिबार हाजिरी जमानीमा छुटेका थिए ।

मंगलबार प्रशासनमा हाजिर भएका उनीहरू सबैले जनही १७ हजार ५ सय रूपैयाँका दरले धरौटी बुझाएको मोरङका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

साढे १७ हजार रूपैयाँ धरौटी बुझाउनेहरूमा पदम श्रेष्ठ, राजन कँडेल, पशुपति भगत, ध्रुव सिग्देल, टुनटुन शर्मा, बाबुराम कट्टेल, सुरेन्द्र ठाकुर, वीरेन्द्र साह, मनिराज प्रसाई र लिला सहनी छन् ।

धरौटीमा छुटेका सबैको जुवा मुद्दा भने जारी रहेको छ । पछि सबैलाई जरिवाना हुने बताइएको छ ।

जुवाडेको म्याद थप

तिहारको अवधिमा सुनसरी प्रहरीले पक्राउ गरेका जुवाडेहरूलाई मंगलबार ८ दिनको म्याद थप गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार तिहारको विदाका कारण अदालत बन्द भएका भएकाले दुई दिनअघि पक्राउ गरिएको भए पनि उनीहरूलाई म्याद थप गर्न सकिएको थिएन । 
तिहार मनाउन दिनेगरी कतिपय जुवाडेहरूलाई हाजिरी जमानीमा छोडिएको थियो ।

तिहारको विदापछि मंगलबारबाट कार्यालय खुलेसँगै उनीहरूलाई अदालतबाट म्याद थप गरिएको सुनसरी प्रहरीले जनाएको छ । 

तिहारका बेला सुनसरीका विभिन्न ठाउँबाट ३१ जना जुवाडेलाई पक्राउ गरेको थियो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहाबाट १५ जना र इनरुवा नगरपालिका–६ मधेसाबाट १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

मधेसामा जुवातास खेल्नेहरूको साथबाट २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ र बराहक्षेत्रको नडाहाबाट ९ लाख लाख ६८ हजार रुपैयाँ बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

View : 80

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved