इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रिन सिटी क्षेत्र यतिबेला धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक ऊर्जा भरिएको वातावरणमा रुपान्तरण हुँदै गएको छ ।
श्रीमद्भागवत महापुराण धन–धान्याञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएसँगै सो ठाउँमा एक भव्य धार्मिक महोत्सवको माहौल सिर्जना भएको हो ।
चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञ माता पाथीभरा मन्दिर निर्माण कार्यलाई पूर्णता दिने उद्देश्यसहित आयोजना गरिएको हो ।
आयोजकका अनुसार महायज्ञले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै समाजमा सकारात्मक चेतना र एकताको सन्देश फैलाउने विश्वास लिइएको छ ।
महायज्ञको उद्घाटन दिन बिहीबार बिहान १० बजे भव्य कलश शोभा यात्राबाट गरिनेछ । सो शोभा यात्रामा हजारौं श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सोही दिन दिउँसो १ बजे मण्डप उद्घाटन गरिने कार्यक्रम तय गरिएको छ ।
कार्यक्रम अवधिभर दैनिक रूपमा बिहान ७ बजेदेखि पूजा–पाठ सञ्चालन हुनेछ भने बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन गरिनेछ । बेलुका ७ बजेदेखि १० बजेसम्म भजन–कीर्तन तथा आकर्षक झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
महायज्ञको विशेष आकर्षणका रूपमा चैत्र १० गते नन्द उत्सव मनाइनेछ भने सोही दिन २१० फिट अग्लो नेपालकै गौरवशाली राष्ट्रिय झण्डा उद्घाटन गरिने कार्यक्रमले थप चर्चा बटुलेको छ ।
महायज्ञको समापन चैत १३ गते पूर्णाहुति, समापन समारोह तथा तिलकपाती वितरणसँगै गरिनेछ ।
महायज्ञमा नेपालकै प्रखर युवा आचार्य पण्डित कुमार निरौलाको मुखारविन्दबाट संगीतात्मक शैलीमा श्रीमद्भागवत कथा वाचन हुने आयोजकले जनाएको छ ।
इनरुवा–७ को चाँदबेलास्थित माता पाथीभरा मन्दिर निर्माण क्षेत्रमा आयोजना हुन लागेको उक्त महायज्ञ माता पाथीभरा मन्दिर व्यवस्थापन समिति तथा डीएन ग्रुप अफ कम्पनीको आयोजनामा विभिन्न उपसमितिहरूको सहकार्यमा सम्पन्न हुन लागेको हो ।
View : 68
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved