एआईबाट निर्मित सांकेतिक तस्वीर ।
विराटनगर । विराटनगरमा एक बालकलाई बन्धक बनाएर फिरौती माग गरेको पाइएको छ । फिरौती माग गर्नेहरू फरार छन् ।
उनीहरूले बन्धक बनाउन बालबालिकाको प्रयोग गरेको पाइएको छ ।
स्रोतका अनुसार विराटनगर महानगरको उत्तरी क्षेत्रका एक बालकलाई मंगलबार बालबालिकाहरूले नै बन्धक बनाएका थिए । त्यसपछि युवाहरूले बालकका अभिभावकलाई फोन गरेर रकम लिएको बताइएको छ ।
केही रकम तत्काल लिएको र बाँकी पछि बुझाउने सर्तमा बालकलाई छाडिएको थियो ।
बालक बन्धक बनाउन प्रयोग भएका बालबालिकालाई भने प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।
प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिइएका बालबालिकालाई बोलाएका बेला आउने सर्तमा अभिभावकको जिम्मा लगाइएको छ ।
घटना गराउने समूहको खोजीका लागि मोरङ प्रहरीले सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरेको छ । बन्धक बनाउनेमा दुई युवाको संलग्नता रहेको बताइएको छ ।
प्रयोग भएका बालबालिका र बन्धक बनाइएका बालकलाई नै ती युवाहरूबाट असुरक्षा हुने देखेर प्रहरीले गोप्य रूपमा अनुसन्धान गर्दैछ । फरार रहेका युवाहरू पेशेवर अपराधी रहे नरहेको पनि प्रहरीले अनुसन्धान गर्दैछ ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले सो घटनाबारे अनुसन्धान भैरहेको र अपराधी भाग्न सक्ने भएकाले यो विषय सार्वजनिक नगरिएको बताइन् ।
View : 723
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved