विराटनगर, २ असोज । विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि स्टाण्डर्ड चार्टर्ड बैंकले पनि सहयोग रकम प्रदान गरेको छ । बैंकले बुधबार विराटनगर महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीलाई २ लाख रुपैया बराबरको चेक हस्तान्तरण गरेको हो ।
बैंककी प्रदेश प्रमुख शर्मिला हुमागाईंसहितको टोलीले कार्यबाहक मेयर कार्कीलाई चेक हस्तान्तरण गरेको हो । वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा नं ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने र महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहेका सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालसमेतको उपस्थितिमा बैंकले महानगरको सडक सौन्दर्यकरणका लागि सहयोग रकम हस्तान्तरण गरेको थियो ।
हालसम्म १८ लाख ५० हजार रुपैया परियोजनाको खातामा जम्मा भइसकेको बताइएको छ ।
सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाको लागत अनुमान गरिएको छ । यसअघि एनआईसी, एनआईएमवी, नेपाल बैंक, ग्लोबल आइएमई, कुमारी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, एनएमवी बैंक, छिमेकी लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरिसकेका छन ।
सो सडकको सौन्दर्यकरणका लागि सहयोग संकलन गर्न महानगरले बैंकर्स एसोसिएसनका प्रदेश अध्यक्ष सन्तोष बुढाथोकीको संयोजकत्वमा आर्थिक संकलन समिति गठन गरेको थियो ।हाल सडकका डिभाइडरमा तारजाली लगाएर फूल रोप्ने कार्य भइरहेको छ ।
बरगाछीदेखि महेन्द्र चोकसम्मका सबै मेडिएम (डिभाइडर)मा तारजाली लगाइसकिएको महानगरका तर्फबाट सौन्दर्यकरणको संयोजन गरिरहेका दाहालले जानकारी दिए । अब बरगाछी–महेन्द्रचोकका केही डिभाइडरमा मात्रै फूल रोप्न बाकी छ ।
संविधान दिवसका अवसरमा असोज ३ गते बिहीबार बाकी रहेका डिभाइडरमा पनि फूल रोप्ने कार्यक्रम राखिएको उनले बताए । परियोजनालाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगी तथा समाजसेवी वेनिगोपाल मुन्दडाको संयोजकत्वमा महानगरले गठन गरेको समितिले हाल सौन्दर्यकरण अभियानलाई तीव्रता दिइएको छ ।
View : 175
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved