विराटनगर । डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल भुक्तानी विवाद कायम रहेकै बेला नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको बिद्युत लाइन कटौती गरेको भन्दै उद्योगी व्यवसायी सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् । उनीहरुले काटिएको विद्युत लाइन तत्काल जोड्न प्राधिकरणसँग माग गरेका छन् ।
प्राधिकरणले कोशी प्रदेशका सातवटा उद्योगले विद्युत महसुलवापत प्राधिकरणलाई २ अर्ब ९७ करोड ९८ लाख ९८ हजार १७४ रुपैयाँ तिर्न बाँकी रहेको भन्दै विद्युत लाइन काटेको जनाएको छ ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेश समितिले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विद्युत लाइन काटिएकोप्रति विरोध जनाएका हुन् ।
‘लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको उत्पादन नै ठप्प हुने गरी विद्युत लाइन काटिएको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनीहरुले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरुमा विद्युत आपूर्ति काटिंदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा कस्तो सन्देश जाला ? उत्पादन ठप्प हुँदा रोजगारी, राजस्व तथा बैंक व्याज भूक्तानी, बजार शृंखला लगायतको क्षेत्रमा पर्ने प्रभावको जिम्मेवारी कसले लिने ?’
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवन सारडाले हस्ताक्षर गरेको विज्ञप्तिमा प्राधिकरणले लाइन काटेका कारण औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भइरहँदा समेत सरकारले समस्याको गम्भीरतालाई आत्मसात नगरेको गुनासो गरेका छन् । उनीहरुले न्यायोचित समाधानका लागि अबिलम्ब पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
विद्युत कटौती गरेर उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले उद्योगहरुमा विद्युत आपूर्तिलाई अविलम्ब सुरु गरी नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित बिषयलाई न्यायोचित निरुपण गर्न माग गरेका छन् ।
उद्योगी व्यवसायीहरुले निजी क्षेत्रले समेत न्याय अनुभूति गर्ने गरि तत्काल ठोस कदम चाल्न नेपाल सरकारसँग आग्रह गरेका हुन् ।
प्राधिकरणले पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योग र दोस्रो चरणमा पाँच करोड रुपैयाँभन्दा बढी विद्युत बक्यौता भएका उद्योगहरूको विद्युत लाइन काटेको थियो ।
ताकेदा गर्दापनि महसुल नतिरकेको भन्दै कोशी प्रदेशभित्र धनकुटाको निगाले सिमेन्ट, उदयपुरको उदयपुर सिमेन्ट कारखाना, सुनसरीको दुहवीस्थित अरिहन्त मल्टिफाइबर्स, अरिहन्त पोलिप्याक, सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ, विराटनगरस्थित रघुपति जुटमिल्स र बाबा जुटमिल्सको लाइन प्राधिकरणले काटेको छ ।
डेडिकेटेड फिडर एवम ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियमसहितको महसुल ती उद्योगीहरूले प्राधिकरणलाई बुझाउन आलटाल गरेको भन्दै लाइन काटिएको विद्युत प्रधिकारण कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख उमेशकुमार झाले बताए ।
View : 127
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved