Biratnagar, Morang, Nepal
२० जेठ २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध

उद्‌घोष सम्वाददाता
१८ जेठ २०८२, आइतवार

उदयपुर । जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध भएको छ ।

सदरमुकाम गाईघाटबाट रौता–सल्ले, रौता–भुटारसहितका ग्रामीण सडक अवरुद्ध भएका रौता सल्लेको विष्णु पाठकले बताए ।

शनिबार बिहानको भीषण वर्षाका कारण यी क्षेत्रको ग्रामीण सडक भत्किएको र कतिपय पहिराले पुरिएका उनले बताए ।

रौता–नामन्त, रौता–आँपटार, नामेटार–ओख्रेनी, रामेटार–भदौरेसहित पाँबु क्षेत्रका ग्रामीण सडक पनि अवरुद्ध भएका स्थानीय डिल्लीराम मगरले बताए ।

रौता–मुर्कुची भएर डिल्लीबर हुँदै माझखर्क जाने सडक पनि विभिन्न स्थानमा भत्किएका र बाढीले बगाउँदा अवरुद्ध भएको स्थानीय दिव्यराज मगरले बताए ।

निरन्तरको वर्षाले जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक भत्काएर खाल्डो परेको वा पहिराले पुरिएको कारण अहिले मोटरसाइकलसमेत सञ्चालन हुन नसकेको माझखर्कका जम्बु शेर्पाले बताए ।

मुर्कुची–डिल्लीबर–माझखर्क भएर लिम्चुङबुङको बासबोटे बराह जाने ग्रामीण सडक पनि अवरुद्ध भएको छ ।

उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा–बर्रे, डुम्रे–उदयपुरगढी सडक पनि भत्किएकाले यातायातका साधन सञ्चालनमा समस्या भएको डुम्रेका गङ्गा मगरले बताए ।

बेलका नगरपालिका–८ को कोठुबाट मैनामैनी जोड्ने सडक भत्किएर अवरुद्ध भएको छ ।

शनिबारको वर्षाको कारण जिल्लाका चार पहाडी गाउँपालिकाका सडक अवरुद्ध भएका जानकारी उनले दिए ।

यसैबीच, शनिबार रातीको अविरल बर्षापछिको बाढीले भत्किएको कोशी राजमार्ग अन्तरगत भेडेटार धनकुटा सडक खण्डको एकतर्फी यातायात खुलेको छ । लेउती खोलाको बाढीले करीव ३० मिटर सडक बगाएको थियो ।

View : 109

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved