फेरि भेटौला कार्यक्रममा निरीक्षकद्वय बराल र दत्त तथा नायव उपरीक्षक श्रेष्ठ । तस्वीरः उद्घोष
विराटनगर । वडा प्रहरी कार्यालय विराटनगरबाट गएका र आएका प्रहरी निरीक्षकलाई ‘फेरि झेटौला’ कार्यक्रम गरिएको छ । आइतबार एक समारोहका बीच निरीक्षकद्वयलाई कार्यत्रममा बिदाई र स्वागत गरियो ।
विराटनगरमा १३ महिना रहेर विभिन्न आन्दोलनको सुरक्षामा सहभागी भएका रञ्जन बराललाई फेरि भेटौला कार्यक्रममा वडा प्रहरीका सुरक्षाकर्मीहरुले बिदाई गरे ।
‘मैले भन्दा बढी विराटनगरको सुरक्षामा उहाँले समय दिनु भएको छ’ वडाका नायव उपरीक्षक बुद्ध श्रेष्ठले भने, ‘हाम्रो कार्यक्षेत्रमा संसद भवन, मन्त्रालय, अस्पतालहरु, होटल, डान्स तथा गजल रेष्टुरेण्ट पर्छन्, यी सबैमा बरालको सुरक्षा उदाहरणीय थियो ।’
सीमित जनशक्तिका भरमा विराटनगरको सुरक्षामा हरेक दिन तैनाथ रहेर बरालले कुनैपनि कमजोरी नदेखाई कार्य सम्पादन गरेको श्रेष्ठको भनाइ छ ।
राति ड्युटी सकेर आराम गर्न आएका सुरक्षाकर्मीलाई पुनः ड्युटीमा पठाउनुपर्ने यहाँको बाध्यता रहेको उनी बताउँछन् ।
लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर धेरै क्षेत्रका सरकारी कर्मचारीका घुसकाण्डको अनुसन्धान गरेर विराटनगर आएका बरालले महानगरको सुरक्षामा बसेर विभिन्न कुरा सिक्न पाएको बताए ।
उनको प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको छ । यस्तै काठमाडौंबाट सरुवा भएर आएका निरीक्षक राजेश दत्तले विराटनगरमा रहेर सुरक्षामा धेरै काम गर्न सकिने बताएका छन् ।
केही वर्षअघि विराटनगरमा रहेर सादा पोशाकमा अनुसन्धान गर्दै हिंडेका दत्तसँग हतियार कारोबार, लुटपाट, तस्करी, गुण्डागर्दी जस्ता अपराध न्यूनीकरणमा काम गरेको अनुभव छ । उनले यसअघि विभिन्न जिल्लामा गएर गोली प्रहार गरी धेरै अपराधी पक्राउ गरेका थिए ।
दत्त प्रहरी प्रधान कार्यालयको ब्यूरोमा रहेर पनि काम गरिसकेका प्रहरी अधिकृत हुन् । गत वर्ष इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा रहेर दत्तले गाँजा र काठको तस्करी रोक्न निकै प्रयास गरेका थिए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय विराटनगरमा हाल रहेका प्रहरी निरीक्षक दिवस रिमालले महानगर र कोशी प्रदेशको राजधानी विराटनगरको सुरक्षाबाट धेरै कुरा सिक्न सकिने बताए ।
महानगरको सुरक्षा गर्न वडा प्रहरीमा एक प्रनाउ र एक निरीक्षकको नेतृत्वमा सुरक्षाकर्मीको समूह रहेको छ ।
View : 189
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved