Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेस महासमिति बैठक:

विश्वप्रकाशले पेश गरेको राजनीतिक प्रस्तावमा कोशी सरकारबारे के छ ?

उद्घोष सम्वाददाता
९ फागुन २०८०, बुधवार

विराटनगर । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सोमबार समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले पेश गरेको राजनीतिक प्रस्तावमा कोशी प्रकरणबारे एउटा उपखण्ड नै उल्लेख गरेका छन् ।

शर्माले कोशी प्रदेशमा संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनका लागि आह्वान भएपछि उत्पन्न भएको घटनाक्रमले कांग्रेसभित्र नै द्वन्द्व सृजना गरेको उल्लेख गरेका छन् । 

उनले गठबन्धन छोड्न कुनै पनि दल स्वतन्त्र भएपनि गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न भने  स्वतन्त्र नभएको बताएका हुन् । साथै केन्द्र र प्रदेश दुवै ठाउँमा विश्वासको निश्चित आधारमा कार्य गर्न सकिएन भने त्यसले गठबन्धनको भविष्य सङ्कटमा पर्ने उल्लेख गरेका छन् ।

‘गठबन्धनको सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन, खुला छलफल र आपसी विश्वासले मात्र त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन’ उनले भनेका छन्, ‘हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौं, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौँ ।’

महामन्त्री शर्माले सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले काङ्ग्रेसप्रति असन्तोष प्रकट गरेको स्थिति रहेकोले गम्भीर समीक्षा गर्न जरुरी रहेको कुरा राजनीतिक प्रस्तावमा उल्लेख छन् । त्यसको कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी रहेको उनले बताएका छन् ।

उनले कोशी प्रदेशमा माओवादी पार्टीसँग त्यसबेला (सरकार बनाउँदा) कायम रहन नसकेको समझदारी राष्ट्रिय सभाको निर्वाचन परिणामपछि झनै समस्याको चपेटामा परेको बताएका छन् । कोशी प्रदेशको घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी रहेको बताएका छन् ।

‘गठबन्धन गर्ने या नगर्ने अथवा भएको गठबन्धनलाई निरन्तरता दिने या गठबन्धन छोड्ने जस्ता विषय व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्कावमा हुनुहुन्न’ राजनीतिकमा भनिएको छ, ‘पार्टीले गहन छलफलबाट परिपक्व निर्णय लिनुपर्ने हुन्छ, नेपाली कांग्रेस समग्र परिस्थितिको संयम समीक्षा गरेर आवेगमुक्त ढंगले चल्ने विषयमा संस्थागत रूपले स्पष्ट छ ।’

View : 282

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved