अनिल पोखरेलविरुद्ध पक्राउ पूर्जी
विराटनगर । अदालतबाट पक्राउ पुर्जी जारी भएका नेकपा एमाले मोरङका नेता अनिल पोखरेललाई रकम दिन घडेरी बिक्री गर्नु परेकाले विराटनगरमा घर बनाउने सपना बिफल भएको बौआलाल चौधरीले बताएका छन् ।
कृषि बिभागका पूर्व उपसचिव चौधरीले पोखरेललाई छोरीको एमबीबीएसमा नाम निकाल्ने सर्तमा रकम दिनका लागि विराटनगरमा भएको एक मात्र घडेरी बिक्री गर्नु परेको बताए ।
उद्घोष दैनिकको सम्पर्कमा आएका उनले २०७३ सालमा एक कट्ठा जमिन ३९ लाखमा बिक्री गरेर पोखरेललाई बुझाएपछि छोरीको नाम पनि ननिस्किएको र रकम पनि फिर्ता नआएकाले परिवारमा समस्या बढेको बताए ।
‘लिएको पैसा तिरेन, त्यही कारण श्रीमतीले तनाव लिएर उपचार गराउनु पर्याे’ चौधरीले भने । उनले १२ कक्षा पढ्दै गरेकी छोरीको आगामी पढाई सुरक्षित होस भनेर अग्रिम लगानी गरेको बताए ।
२०७१ सालमा पोखरेलले सापटी स्वरुप चौधरीबाट चार पटकमा दुई लाख ५० हजार रुपैयाँ लिएको उनले बतँए । छोरीले प्लस टुको अध्ययन सकेपछि भनें बढी रकम दिएर फसेको उनको भनाइ छ ।
चौधरीका अनुसार २०७१ भदौ २० मा एक लाख, कात्तिक १७ मा ५० हजार र कात्तिक २७ मा ५० हजार र चैत १३ मा ५० हजार रुपैयाँ दिएको दाबी गरे ।
छोरीले प्लस टु पास गरेपछि पोखरेललाई एमबीबीएसमा नाम निकाल्ने सर्तमा २०७३ मंसिर ६ मा १० लाख, मंसिर २२ मा दुई पटक १७ र ८ लाख रुपैयाँ दिएको उनले दाबी गरे । ‘सबै रकम चेकबाट पोखरेलकै खातामा जम्मा गरिदिएको हो’ चौधरीले भने ।
सप्तरीका चौधरी र मोरङका पोखरेलबीच परिचय गराउने तत्कालिन कृषि बिभागका अधिकृत रामदेव सिंह पनि यही कारणले तनावमा छन् । पोखरेलसँग सिंहको चिनजान थियो । चौधरीका बिभागीय मित्र भएकाले सिंहले पोखरेलसँग चिनजान गराए ।
‘केपी ओली, इश्वर पोखरेल, शंकर पोखरेल, गिरीराजमणि पोखरेल, विष्णु पौडेलको मात्रै कुरा गरेर हामीलाई प्रभावित पार्नु हुन्थ्यो’ चौधरीले पोखरेलको बिगत सुनाए ।
हुम्लामा कार्यरत चौधरी विराटनगरस्थित तल्कालिन जिल्ला विकास समितिको कार्यालयमा पोखरेलसँग चिनजान भएपछि निकट भएका थिए ।
सापटी फिर्ता माग्दा छोरीलाई एमबीबीएसमा नाम निकालिदिने भनेर थप रकम माग गरेको बताउँदै चौधरीले छोरीको पढाइका लागि विराटनगरको घडेरी बिक्री गर्नु परेको दाबी गरे ।
‘पैसा नतिरेपछि माग्न थालें, एक दिन फोन गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छु भने, अर्को पटक फोन गर्दा अर्थमन्त्री विष्णु पौडेलसँग छु भने’ चौधरीको भनाइ छ–‘पैसा माग्दा कि ठुलो मान्छेको नाम लिने कि बिरामी छु भन्ने गरेर टार्दै आएका छन् ।’ दाजु भनेर फकाउँदै पोखरेलले ३८ लाख ८० हजार रुपैंयाँ लगेको उनले बताए ।
‘गभर्नर महाप्रसाद अधिकारीलाई भनेर ऋण निकाल्दैछु अनि तिर्छु भनेर पनि आश्वासन दिए तर तिरेनन्’ चौधरीले भने ।
पोखरेलविरुद्ध पक्राउ पुर्जी
नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत मोरङले सोमबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
सार्वजनिक लेखा समिति भापति ऋषिकेश पोखरेलका स्वकीय सचिव रहेका पोखरेललाई पैसा लिएको आरोप लागेपछि उनी पदबाट हटाइएका थिए ।
पोखरेलले एमबीबीएस पढाउन नाम निकालिदिने भन्दै बौआलाल चौधरीबाट ३८ लाखभन्दा बढी रकम लिएको आरोप छ ।
यद्यपि पोखरेलले भने उक्त रकम ‘अर्कै प्रयोजन’ का लागि लिइएको र अहिले आएर कारोबार अन्तै मोडिएको दाबी गर्दै आएका छन् ।
उक्त आरोपबारे जिल्ला प्रहरी कार्यालय मोरङले ठगी तथा आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान सुरू गरेको डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
‘उच्च अदालतबाट आएको आदेशअनुसार हामीले मुद्दा दर्ता प्रक्रिया अघि बढाएका छौं’, उनले भने, ‘जाहेरवालासँग जाहेरी सनाखत गरिसकेका छौं । पक्राउ अनुमति लिइसकेका छौं ।’
पोखरेलले आफ्नो पहुँच भएको भन्दै अग्नीसाई र कृष्णसवरन गाउँपालिका–५ बकधुवा बस्ने बौआलाल चौधरीकी छोरीलाई एमबीबीएस डाक्टर पढाउने आश्वासन दिएको आरोप छ ।
View : 105
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved