Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

श्रीमतिको दोस्रो विहे गराइदिएको भन्दै केराबारीमा माइजु र बहिनीमाथि खुकुरी प्रहार

उद्‌घोष सम्वाददाता
३ फागुन २०८०, बिहिवार

विराटनगर । मोरङको लेटाङ नगरपालिका–१ का ५२ वर्षीय नीरकुमार राईले आफ्नै माइजु र उनकी छोरीमाथि खुकुरी प्रहार गरेका छन् ।

पेस्तोल समेत बोकेर गएका नीरकुमारले बिहीबार बिहान केराबारी–९ भलुवाइस्थित माइजु ५० वर्षीया जमुनादेवी राईको घरमै पुगेर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट जमुनादेवी र उनकी छोरी २५ वर्षीया रेणुका राई घाइते भएका छन् । 

घाइते दुवैको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार नीरकुमार जमुनादेवीका भान्जा हुन् । उनले माइजुले आफ्नी श्रीमतिसँग सम्बन्ध विच्छेद गराइदिएको र दोस्रो विवाह गरिदिएको आरोप लगाउँदै हत्या गर्ने उदेश्यले घरैमा पुगेर खुकुरी प्रहार गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

माइजु र भान्जाबिच पहिल्यैदेखि उक्त विषयमा झगडा हुने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

नीरकुमारले श्रीमतीको दोस्रो बिहे गराइदिएको आरोपमा रिसईबी लिएर एकथान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने म्याग्जिन ४ राउण्ड बोकेर माइजु जमुनादेवीको घरमा पुगेको खुलेको छ । प्रहरीले ‘मेड इन चाइना’ लेखेको अर्को नक्कली पेस्तोलसमेत फेला पारेको जनाएको छ ।

हत्या गर्ने योजना बनाएर सुरुमा माइजू जमुनादेवीलाई खुकुरीले प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

पेस्तोल ताक्दै अन्दाधुन्द खुकुरी प्रहार गर्न थालेपछि हारगुहार माग्दै छुट्याउन गएकी जमुनादेवीकी छोरी रेणुकामाथि समेत उनले खुकुरी प्रहार गरेका थिए । 

अन्धाधुन्ध खुकुरी प्रहार हुन थालेपछि जमुनादेवीका परिवारले प्रतिकार गरेको जनाइएको छ । सोही क्रममा नीरकुमारसमेत घाइते भएको जनाइएको छ । प्रहरीले घटनास्थलबाट सक्कली र नक्कली पेस्तोल, खुकुरी लगायतका हातहतियार बरामद गरेको जनाएको छ ।

खुकुरी प्रहारबाट जमुनादेवी र रेणुकाको टाउको, अनुहार लगायतका भागमा गहिरो चोट लागेको छ । उनीहरुको अवस्था भने खतरामुक्त रहेको जनाइएको छ ।

प्रहरी नियन्त्रणमा रहेको नीरकुमारको भने नगर अस्पताल बेलबारीमा उपचार भइरहेको जनाइएको छ ।

View : 231

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved