विराटनगर । मोरङमा शिक्षा क्षेत्रको बेरुजुबारे छलफल गर्न आयोजित एक दिने कार्यशाला सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको ‘शिक्षा क्षेत्रमा बजेट कार्यान्वयन, सुझाव छलफल तथा बेरुजु’ सम्बन्धी कार्यशाला आयोजना गरेको हो ।
कार्यशालामा मोरङका १७ वटै पालिकाका शिक्षा शाखा प्रमुखहरु सहभागी थिए । कार्यक्रममा मोरङमा शिक्षातर्फ कुल बेरुजु ४९ करोड रुपैयाँ रहेको र ३१ करोड रुपैयाँ बराबरको कागजात पेश भइसकेको जनाइएको छ ।
गत आव २०७९–८० मा थप ८ करोडको २७ लाखको बेरुजु फर्स्यौट हुने तयारीमा रहेको जानकारी दिइएको हो । त्यस्तै चालु आवमा १ करोड २५ लाख रुपैयाँ फर्स्छ्यौट हुने क्रममा रहेको पनि जनाइएको छ ।
कार्यक्रममा शिक्षामा बेरुजु न्यूनीकरणका लागि पहल गर्न मन्त्रालयका उपसचिव प्रकाश सापकोटाले आग्रह गरे । उनले शिक्षकहरूको तलब मासिक रुपमा निकासा गर्न पालिकाका शिक्षा अधिकृतहरूलाई निर्देशन दिए ।
संघीय सरकारले शिक्षकहरुको तलब मासिक रुपमा निकासा दिन निर्देशन दिइसकेको भन्दै शिक्षकको तलबलाई ताल्चा लगाएर राख्न नहुने बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव फडिन्द्र खत्रीले शिक्षा क्षेत्रको बेरुजु छिटो फर्छ्यौट गर्न आग्रह गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमले बेरुजु भएका विद्यालयहरूका प्रधानाध्यापक र शिक्षकहरुको सरुवादेखि पेन्सन पट्टा रोक्कासम्म हुनसक्ने बताए ।
छलफलमा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेश प्रमुख उपसचिव जीवन गड्तौला, शिक्षा मन्त्रालयका शाखा अधिकृत शिवराम पोखरेल, शिक्षा अधिकृतद्वय शिवप्रसाद घिमिरे र प्रकाश गुरुङ लगायतको सहभागितामा थियो ।
View : 174
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved