विराटनगर । विराटनगरमा दोस्रो विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल क्रिकेट फाउण्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन र क्रिकेट विदआउट बाउन्ड्रिजको सहयोगमा विराटनगरमा बिहीबारदेखि प्रतियोगिता हुन लागेको जनाइएको छ ।
उक्त प्रतियोगिता दोस्रो पटक आयोजना हुन लागेको नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अध्यक्ष अभिषेक श्रेष्ठले बताए । उनले लिग चरणमा प्रतियोगिता हुने र अङ्कको आधारमा शीर्ष दुईवटा टोलीले फाइनल खेल्ने जानकारी दिए ।
प्रतियोगितामा विराटनगरका छ वटा सामुदायिक विद्यालयका छात्रा क्रिकेट टोलीले प्रतिष्पर्धा गर्नेछन् । आदर्श माध्यमिक विद्यालय, आदर्श बालिका माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, सत्यनारायण माध्यमिक विद्यालय र मिल्स माध्यमिक विद्यालयको छात्रा टोलीले प्रतिष्पर्धा गर्ने जनाइएको छ ।
प्रतियोगितामा १६ ओभरको खेल हुनेछ । विराटनगर– ६ स्थित म्यारिलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा प्रतियोगिताका सबै खेल १६ ओभरको हुने जनाइएको छ । प्रतियोगिताको कुनै दर्ता शुल्क नलाग्ने पनि जनाइएको छ ।
प्रतियोगितामा वेस्ट ब्याटर, वेस्ट बलर, प्लेयर अफ दि सिरिज, वेस्ट विकेट किपर र इमर्जिङ प्लेयरलाई विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीको तर्फबाट एक वर्षको छात्रवृति प्रदान गरिने जनाइएको छ ।
उक्त प्रतियोगिता खेल्ने विद्यालयका उत्कृष्ट १४ जना खेलाडी छनौट गरी यसपछि सप्तरीमा हुने प्रतिष्पर्धाका लागि तयारी अघि बढाउने जनाइएको छ ।
View : 287
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved