२०८२ चैत ३ गते मङ्गलबारका दिन निस्किएको राष्ट्रिय दैनिक पत्रिका उद्घोष पृष्ठ संख्या २ मा हेर्दा ‘योगमाया आयुर्वेदिक विश्वविद्यालय’ भन्ने शीर्षक देखियो ।
भित्र छैटौं अनुच्छेदमा पढ्दा आपत्तीजनक नै त नभनौं लेखकले अलिक नबुझी लेखेजस्तो लाग्यो ।
हो जनस्तरबाट आवाज उठेकै थियो । नेपालको पूर्वी भेगबाट सती प्रथा विरुद्धको पहिलो आवाज आबाल ब्रह्मचारी षडानन्द अधिकारीबाट भएका थियो ।
यसको नाममा आज नगरपालिका खडा भएको छ । ‘जिउँदो मान्छे जलाउने अति नै क्रुर निस्कृष्ट प्रथालाई रोक्नुपर्यो महाराज’ भनेर चन्द्र शमशेरलाई नै गुरुले बिन्ती गर्दै सल्लाह दिनुभएको थियो रे ।
‘गुरुको राय मनासिव छ, विचार गर्छु’ भनेका थिए रे चन्द्र शमशेरले । तर गुरुको देहावसान वि.सं. १९७३ मा नै भयो । पछि १९७७ मा चन्द्र शमशेरबाट कानुनी रूपमा सती प्रथाको रोक लगाइयो ।
नेपाल अधिराज्यभरि नै त्यसताकाका गाउँपञ्चायतहरूमा सूचना पठाएर तुरुन्त कार्यान्वयन गर्न भनियो । तर अन्धविश्वास र रुढीवादीले जकडिएको सामन्ती संस्कार बोकेको मुखिया भनाउँदाहरू र पञ्चहरूलाई यो कानुन पाच्य भएन ।
मरौटो हडप्ने नीति, टुहुरा केटाकेटीलाई हलीगोठाला राख्ने र तिनलाई बेचेर अन्यत्र पठाउने कामदार बनाएर आदि कुकृत्यमा बाधा पर्ने भयो ।
अतः सतीप्रथम ज्यूँका त्यूँ रह्यो दिङ्ला अरूण उपत्यका भेकमा । कानुन पारित भएपश्चात् जलाउँदा ज्यान मुद्दा लाग्ने थियो । विकल्पमा उपाय निकालि हालेछन् ।
अरूण नदीको बीचमा बालुवा बेंसी नजिक अत्यन्त ठूलो ढुङ्गो रहेछ, हो त्यसै ढुङ्गोमाथि पति मरेकाहरूलाई लगेर थुपारिन थालिएछ । पतिसँगै घाट लग्यो अनि पत्नीलाई ढुङ्गामाथि पुर्यायो माझीका नाउमा राखेर ।
गोठाला खेताला गएर गाउँले मार्फत केटाकेटीले थापाइ हाले । गएर बारी किनारबाट छोराछोरी रुन्छन्, आमालाई बोलाउँछन् ।
भोक, तिर्खा, झरी, बादल, घामपानीबाट प्रतादित बच्चा दिनैपिच्छे जस्तो किनारमा पुगेर विलौना गर्छन् ।
विडम्बना न पौडिएर किनारमा आउन सक्नु, आइहाले पनि समाजले भूतप्रेत जस्तो ठान्ने, ढुङ्गामूढा हानेर भगाउने जस्तो अत्यन्तै निस्कृष्ट व्यवहार हुन्थ्यो नै ।
त्यसै ढुङ्गामा बस्दा बस्दै कतिलाई त गोही आदि जलचरले तानेर खाइदिन्थे, कोही त ढुङ्गामाथि रहँदा अति कष्ट भएर नदीमै हाम फालिदिन्थे ।
भोकै, तिर्खै घामपानी, हुरीबतास, रातदिन प्राकृतिक प्रकोप सह“दासह“दै काग–गिद्धको आक्रमण हुँदै आखिरमा हड्डीमै टाँसिएर सुकेका दाउरा जस्ता भएर त्यही देहलीला समाप्त गर्थे ।
सतीको नाममा नारीको कन्तबिजोग भइरहेको थियो ।
सतीका हाडहरू थुप्रिएर चुलिएको सती ढुङ्गो देखेपछि सतीप्रथा बन्द गर्ने कानुन त्यस भेकमा कार्यान्वयन नभएको, नारीप्रति बज्रिएको असैह्य बज्रपातबाट ज्यादै दुःखी भएर योगमायाले एउटा सूचनामूलक चिठी आफ्ना भक्तमार्फत लेख्न लगाएर काठमाडौं पुर्याउन पठाइन् ।
दिङ्ला मझुवाबाट बल्लतल्ल १४ दिनमा पुगेर श्री ३ राणा सरकारमा पत्रवाहकले पेश गरिदिए । त्यसबेला जुद्धशमशेरको पालो आइसकेको थियो । चन्द्रशमशेरपछि २ वर्षमा भीम शमशेर प्रधानमन्त्री भएका थिए ।
पत्र प्राप्तपश्चात् सरकार चनाखो भयो र निगरानी बढायो ।
योगमाया विधवा भएकोले त्यसै पनि घृणा गर्थे गाउँलेले । माथि सतीढुङ्गामाथि नारीहरूका अस्थिपञ्जर थुप्रो बारे पोल खुलेपछि त्यसबेलाको स्थानीय सरकार योगमायामाथि झन् क्रुद्ध भयो ।
योगमाया माथि खनियो । सतीढुङ्गामाथि छोड्न त रोकियो तर विधवाप्रति गर्ने घृणा, उपेक्षा, दुरदुर यथावत रहिरह्यो ।
त्यस बेलाकै संस्कारले पछ्याएर होला यति बेला पनि विधवालाई पूजाआजा तथा अन्य शुभकार्यमा अगाडि लगाइँदैन ।
सतीढुङ्गाको विकल्पमा योगमायाको कुटी खडा भयो पीडित नारीका लागि ।
घरगाउँमा दुर्व्यवहार गरेपछि टिक्न नसकेर सतीहरू योगमाया आश्रममा जान थालेपछि दासप्रथा पनि खारेज भयो वि.सं. १९८१ मा ।
तब पुरुष वर्ग कमाउन पनि मुङ्लान पसे, स्वास्नी मान्छे बालबच्चा लिएर योगमायाकै कुटीमा आश्रय लिन थाले ।
घर मालिकहरूले टिक्न दिएनन् मुक्त गरिएका दासहरूलाई । घर–झुप्रा भत्काइदिए । कमाइ गरेका जग्गा खोसे ।
१९९३ सम्म पनि फाट्टफुट्ट सतीहरू पठाउँदै गर्दै थिए । निर्मूल हुन सकेको थिएन । त्यसैले १९९३ को २६ बुँदे मागमा सतीप्रथा निर्मूल पारियोस् भन्ने माग गराखिएको थियो पुनः नदोहोरियोस् भनेर हो ।
जातीय विभेद, लैङ्गिक विभेद, वर्गीय विभेद, छुवाछुत, छोइछिटो अन्त्य हुनुपर्छ भन्दै पेशा व्यवसायमा पनि समानता हुनुपर्छ भन्ने कुरालाई जोड दिंदै दलीय, पीडित, शोषित वर्गमा चेतना जगाउने काम क्रान्तिकारी योगमायाबाट भएको थियो ।
समाजमा व्याप्त त्यसबेलाको कुसंस्कार, कुरीति, अन्धो रुढीवाढी परम्परा, अन्याय, अत्याचार तथा शोषक सामन्तीहरूको विरोधमा नै योगवाणी लेखियो ।
योगवाणी सामाजिक चेतनाको पुञ्ज हो । योगमायाको रचना हुनाले योगवाणी भनिएको हो ।
वि.सं. १९९३ मा पेश गरेको २६ बुँदे माग पूरा नभएपछि पूरा गर्नका लागि दबाव दिन अग्निदाहको कुरा उठ्यो ।
उफ्रौलीटाहारमा ठूलो खाल्डो पनि खनियो । घ्यू, तिल, दाउरा प्रशस्त भेला गरियो ।
१४० जना होमिन ठिक्क पनि भए र ‘तुरुन्त माग पूरा गर, कानुन बदल नत्र हामी आत्मदाह गर्दै अग्निकुण्डामा होमिदैछौं’ भनेर कार्यालयहरूमा सूचना टाँस्न पठाए तर उल्टै धडपकड सुरु भयो ।
कति त अत्तालिएर भाग्ने ठाउँ नपाएर नदीमा हाम फाले । सक्ने पौडिए पारिपट्टि पुगे, नसक्ने त्यतै अरूण नदीमै बगे अरे ।
ठुलीहजुर योगमायालाई जेल सजाय मिल्यो साथै सहभागीहरूलाई पनि ।
योगमाया, गंगादेवी, दुखुना, नैनकला र अन्य महिला साथीहरू भोजपुर र पुरुष वर्ग धनकुटातर्फ चलाइए ।
नारी वर्गलाई अलिक छिटो चुपचाप बस्ने, अब नगर्ने सर्तमा र पुरुषलाई अलिक ढिलो २ वर्ष भित्रमा जेल मुक्त गरिदिए ।
सबै योगमाया कुटी मझुवाबेँसीमा भेला भए र पुनः अर्को योजना बन्यो – ‘जलसमाधि योजना ।’
यो योजना पनि दबाब दिनकै लागि थियो कि भागहरू कार्यान्वयन हुन सकून् र देश सुधारिएको कल्याणकारी राज्य बन्न सकोस् भन्ने हो ।
यो योजनाचाहिं पहिले जस्तो सूचना नगरी गोप्य तबरले बन्यो ।
यसैकारण सफल भएरै छाड्यो । वि.सं. १९९८ असार २२ गते बिहान बसेरै योगमाया साथै अन्य ६७ जना पुरुष, महिला र बालबालिका समेतले समाधि लिएका थिए ।
२६ बुँदेमा जो जनकल्याणका खातिर, देश कल्याणका खातिर कानुन बदलेर लागू गराउनका लागि थियो, सतीप्रथा र छुवाछुत रोक्न मात्र होइन ।
स्मरण होस् सतीप्रथा बन्द गर्ने कानुन १९७७ मा नै बनिसकेको थियो ।
(कविता चापागाईं विशेष गरी पूर्वको साहित्यिक वृत्तमा एक सशक्त नारी स्रष्टा हुन् ।)
View : 57
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved