Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

के हो गृहमन्त्री गुरुङको ‘शेयर काण्ड’ ?

मनी लाउण्ड्रिङका आरोपी दिपक भट्ट र गृहमन्त्री गुरुङबिच साझेदारी, प्रधानमन्त्री बालेनमाथि नै उठ्यो प्रश्न

उद्‌घोष संवाददाता
७ वैशाख २०८३, सोमवार

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र मनी लाउण्ड्रिङ मुद्दामा अनुसन्धानमा भइरहेका विवादित व्यक्ति दिपक भट्टसँगका प्रत्यक्ष रुपमा व्यापारिक साझेदारी भएको खुलेको छ ।

गुरुङ र भट्टबीच कम्पनी साझेदारी रहेको तथ्य बाहिरिएसँगै राजनीतिक र सार्वजनिक वृत्तबाट उठेको प्रश्न प्रधानमन्त्री बालेन शाहतिर सोझिएको छ ।

गुरुङको नाममा भट्टको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर देखिएको छ । 

भट्ट भने अहिले मनी लाउण्ड्ङि मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका छन् । 

विवादित पृष्ठभूमि भएका भट्ट र गुरुङबीच कम्तिमा पनि पाँच बर्षदेखिको सहकार्य रहेको यसबिचमा सार्वजनिक भएका विभिन्न घटनाले पुष्टि गरेको छ ।

गृहमन्त्री नियुक्तिपछि गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तर उनले कतिपय लगानीबारे सम्पति विवरणमा लुकाएको पाइएको छ । उनले गृहमन्त्री हुनुभन्दा पाँच दिन अघिमात्रै ५३ लाख बढिको शेयर कारोबार समेत गरेका छन् । त्यसका लागि प्राप्त रकमको स्रोत अहिलेसम्म खुलेको छैन ।

गृहमन्त्री गुरुङमाथि अब छानबिनको विकल्प नभएको जेनजी मुभमेन्ट लगायतका युवा संस्थाका प्रतिनिधिहरूले धारणा राखेका छन् । उनीहरूले तत्कालै गृहमन्त्रीलाई बर्खास्त गरी छानबिन अघि बढाउन माग पनि गरेका छन् । 

गृहमन्त्री बनेदेखि नै आफ्नो अधिकार क्षेत्रबाहिर गएर ‘स्टन्ट’ गर्दै आएको आरोप खेपिरहेका गुरुङमाथि छानबिन गर्न नागरिक तहबाट समेत आवाज उठ्न थालेको हो ।

सेतोपाटी अनलाइनका अनुसार गृहमन्त्री गुरूङले २०८२ माघ १५ बाट चैत ८ गतेसम्म दोस्रो बजारबाट ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर किनेको पाइएको छ ।

भट्ट समूहको कम्तिमा दुईवटा लघु बिमा कम्पनीमा गृहमन्त्री गुरूङ ५० लाख रूपैयाँको संस्थापक सेयर लगानीकर्ता रहेको पनि यसैबीचमा खुलेको छ । 

तर शेयर खरिद सम्बन्धि यी लगानीबारे गृहमन्त्री गुरूङले आफ्नो सम्पत्ति विवरणमा कतै खुलाएका छैनन् ।

गुरुरू फागुन २१ को निर्वाचनमा गोरखा–१ मा रास्वपाबाट निर्वाचित भएका थिए । उनी प्रधानमन्त्री बालेन शाहसँगै सपथ लिएर सरकारको गृहमन्त्री बनेका थिए ।

सुधन गुरूङ नेतृत्वको हामी नेपाली नामक एउटा गैरसरकारी संस्थासँग विवादित व्यवसायी तथा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष रहेका दीपक भट्ट र शंकर समूहको संलग्नता भने यसअघि नै सार्वजनिक भइसकेको छ।

गुरूङले नै भट्ट, शंकर ग्रुपका उपाध्यक्ष रहेका दिपक अग्रवाल र प्रबन्ध निर्देशक रहेका साहिल अग्रवालबाट हामी नेपाली संस्थाका लागि सहयोग लिएको खुलाएका थिए ।

यता, उकेरा अनलाइनका अनुसार गृहमन्त्री गुरुङले होप होल्डिङ्स प्रालि, लगुम प्रिमियम अपार्टमेन्ट र एड्भेन्चर भिल्ला प्रालिमा लगानी रहेको सम्पति विवरणमा उल्लेख गरेका थिए ।

तर स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा भएको लगानी भने उनले लुकाएको खुलेको छ । जहाँ सेयर लगतमा प्रस्ट रुप्मा सुधनको नाममा सेयर रहेको देखाइएको छ । त्यस विवरणमा सुधनका नागरिकता नम्बर र उनका बाबुको नाम समेत मिलेको छ । 

View : 171

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved