Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूवि प्राध्यापक संघद्वारा चार सम्मानित

उद्‌घोष संवाददाता
२२ मंसिर २०८२, सोमवार

विराटनगर ।  पूर्वाञ्चल विश्वविद्यालय (पूवि) प्राध्यापक संघ केन्द्रीय समितिको शुक्रबार विराटनगरमा सम्पन्न साधारणसभामा चार जना विशिष्ट प्राध्यापकहरू सम्मानित भएका छन् ।

संघको नेतृत्व गर्दै विश्वविद्यालयको विकासमा महत्त्वपूर्ण योगदान पु र्‍याएका पूर्व अध्यक्षत्रय दिनेशराज सुवेदी, तेजराज गिरी र नरेश साहलाई साधारणसभामा माला, दोसल्लासहित सम्मान गरिएको थियो । यसका साथै, पूविभित्रैबाट उपकुलपति नियुक्त भएका प्राडा बिजु थपलिया पनि सोही अवसरमा सम्मानित भए ।

नयाँ नेतृत्वका लागि निर्वाचन समिति गठन :  साधारणसभाले संघको केन्द्रीय समितिको तीनवर्षे कार्यकाल समाप्त भएको घोषणा गर्दै नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढाएको छ ।

साधारणसभाले मनोज हलवाईको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा कृष्ण दाहाल र दीपक खतिवडा छन् ।

नेपालका अन्य प्रमुख प्राध्यापक सङ्घहरू लामो समयदेखि नेतृत्वविहीन वा म्याद गुज्रेको अवस्थामा रहेका बेला पूवि प्राध्यापक संघले समयमै निर्वाचनको तयारी थालेको छ ।
त्रिवि प्राध्यापक संघ (टुटा) को अधिवेशन भएको ६ वर्षभन्दा बढी भइसक्दा पनि निर्वाचन हुन सकेको छैन ।

टुटाका सभापति प्राडा बुद्धिबहादुर थापा अवकाश भएपछि उपसभापति प्राडा रमेशप्रसाद जोशीले कार्यवाहक सभापतिको रूपमा जिम्मेवारी सम्हालिरहेका छन् । 
यसैगरी, नेपाल प्राध्यापक संघ (नुटा) मा पनि डा. वसन्त ढकाल आफ्नो केन्द्रीय नेतृत्वको तीन वर्षको कार्यकालभन्दा दोब्बर समय (छ वर्षभन्दा बढी) देखि सभापति पदमा कायम छन् ।

यस्तो अवस्थामा पूवि प्राध्यापक संघ वर्तमान अध्यक्ष यज्ञ शर्मा जमरकट्टेलको नेतृत्वले समयमै निर्वाचन समिति गठन गरी लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाएकोमा प्राध्यापक वर्गमा चासो र सकारात्मक सन्देश प्रवाह भएको छ ।

View : 148

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved