Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

धरानको बजेट भदौ २६ मा, ग्रामथानमा छैन टुंगो

उद्‌घोष संवाददाता
२२ भदौ २०८२, आइतवार

विराटनगर । मेयर हर्क साम्पाङको अन्य जनप्रतिनिधिहरुसँगको बेमेल र विवादका कारण अहिलेसम्म आउन नसकेको धरान उपमहानगरको बजेट भदौ २६ मा आउने भएको छ । नेकपा एमालेका जनप्रतिनिधिहरुको माग सम्बोधन गर्न मेयर साम्पाङ राजी भएपछि धरानमा बजेट आउने अवस्था बनेको हो । 

कानुन अनुसार असार १० भित्र स्थानीय सरकारले बजेट ल्याइसक्नुपर्छ । साउन १ मा सुरु हुने नयाँ आर्थिक वर्षबाट त्यसको कार्यान्वयन प्रक्रिया थाल्नुपर्छ । जनप्रतिनिधिहरुबीचको विवादले धरानमा नयाँ आर्थिक वर्ष सुरु भएको ५७ औं दिनमा भदौ २६ मा बजेट आउने भएको हो । 

‘भदौ २६ मा नगरसभा राखेर बजेट पेश गर्ने सहमति भएको छ’ धरानका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंले भने ‘शुक्रबारको कार्यपालिका बैठकले बजेट सिलिङमा केही परिमार्जन गरेको छ । आइतबार बस्ने बैठकले पारित गरेर नगरसभामा पेश गर्ने निर्णय हुनेछ ।’

एमालेको माग अनुसार चालू खर्च बाहेक पूँजीगत खर्चका हरेक शीर्षकमा १० प्रतिशत आकार घटाउने, मेयर–उपमेयर भिजन कोषलाई नगर कोष बनाउने सहमति भएपछि बजेट आउने अवस्था बनेको हो । 

अब स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले तय गरेभन्दा सानो आकारको बजेट आउने भएको छ । समितिले आर्थिक वर्ष २०८२–०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट तय गरेको थियो ।

अब १ अर्ब ९८ करोड रुपैयाँको बजेट आउनेछ ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ एमालेको असहमतिबीच पारित गरेको घोषणा भएको थियो । धरानको कार्यपालिकामा एमालेको बहुमत छ । बहुमत सदस्य भएको एमालेले अघि सारेका सिलिङ घटाउने, मेयर र उपमेयर कोषलाई नगर कोष बनाउने मागमा मेयर सहमत बनेका हुन् । 

मेयरले ती विषयमा सहमति जनाएपछि उपमेयर अइन्द्र बेघाले भने असहमति प्रकट गरेका छन् । उनले मेयर र उपमेयर कोषको नाम बदल्न नहुने बताएका थिए । उनको असहमतिबीच नाम भने फेरिएको छ ।

धरानमा मेयर हर्क साम्पाङ स्वतन्त्र उम्मेद्वार बनेर जितेका हुन् भने उपमेयर बेघा माओवादीबाट विजेता बनेका हुन् । अहिलेसम्म धरान बजेट होलिडेकै अवस्थामा छ ।

समयमै बजेट नल्याउने स्थानीय सरकारहरुमध्ये मोरङको ग्रामथान पनि एक हो । गाउँपालिका अध्यक्ष नमोनारायण माझीको अन्य जनप्रतिनिधिसँग बल्झिरहने विवादले ग्रामथानको बजेट अझै अनिश्चित छ ।

खासगरी माओवादीबाट अध्यक्ष बनेका माझी र एमालेबाट निर्वाचित उपाध्यक्ष गुणावतीदेवी थारुसहित कांग्रेसका जनप्रतिनिधिबीच पनि राम्रो सम्बन्ध छैन । उनीहरुबीच बल्झिरहने विवादले ग्रामथान गाउँपालिका पनि अहिले बजेट होलिडेमा छ ।

बजेट होलिडेमा भएका कारण ग्रामथानको सम्पूर्ण आर्थिक कारोबार ठप्प छ । विकास निर्माणका भुक्तानीदेखि कर्मचारीको तलबभत्ता लगायतका सबै आर्थिक कारोबार ठप्प हुँदा गाउँपालिका बन्धक जस्तै बनेको छ । 

कोशी प्रदेशकै भोजपुरको साल्पासिलिछो गाउँपालिका र ओखलढुंगाको सुनकोशी गाउँपालिकाले पनि हालसम्म बजेट सार्वजनिक गर्न सकेका छैनन् ।

View : 347

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved