Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

उदयपुरमा ठेकेदारको लापरबाहीले अलपत्र परेको सडकको अनुगमन

उद्‌घोष सम्वाददाता
२४ पुष २०८१, बुधवार

उदयपुर । त्रियुगा नगरपालिका–५ स्थित दमौटी, बुर्जाकाल्ला, पात्लेबास, लालपत्ता, घनचक्रे सडक निर्माण योजना ठेकेदार कम्पनीको चरम लापरवाही र ढिलासुस्तीले अलपत्र बन्दै गएकपछि सर्वसाधरणले सास्ती भोग्नु परेको छ ।

सम्झौता अनुसार निर्माण कम्पनीले समयमा सडक निर्माणको काम सम्पन्न नगर्दा हाल सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको हो ।

सो सडकको बारेमा स्थानीयहरुबाट गुनासो बढ्न थालेपछि जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौरबहादुर बिश्वकर्माको एक टोलीले स्थलगत अनुगमन समेत गरेको छ । २०७८ असोज १ गते सम्झौता भएपछि एससीएफ बीएनएस जेभी लाहान–३ सिराहाले सडक निर्माणको काम गर्दै आएको छ ।

२०८० भदौ ३१ गतेसम्ममा निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले विभिन्न बहाना बनाएर अलपत्र अवस्थामा छोडेको छ । अहिले निर्माण कम्पनीले सामान्य सडक स्तरोन्नति समेत गर्न नसकेको स्थानीय विनोद मोतेले बताए । सो सडक चार वर्ष पहिलेकै जस्तै जीर्ण अवस्थामा पुगेको उनले बताए ।

बाटो निर्माणपछि आवतजावतमा सहजताको सपना देखेको स्थानीयहरु ठेकेदार कम्पनीको चरम लापरवाही र ढिलासुस्तीले धुलाम्मे बाटोमा हिड्न बाध्य भएको अर्का स्थानीय चन्द्रबहादुर राईले आक्रोस पोखे । राईले सम्झौता विपरित चरम लापरवाही र ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याएर कार्वाही गर्नुपर्ने माग समेत गरेका छन् ।

अहिले सहज ठाउँहरुमा सामान्य सडक निर्माणको काम भैरहेको छ । अनुगमपछि जिसस प्रमुख विश्वकर्माले सडक निर्माणका लागि यथाशीघ्र पहल गर्ने बताए । 

उनले सडक निर्माणका लागि तत्काल सम्बन्धित निकायहरुसँग छलफल गर्ने बताए । प्रमुख बिश्वकर्माले तत्काल सडक निर्माण नगरे निर्माण कम्पनी एससीएफ,बीएनएस जेभीलाई कार्वाही गरेर अगाडि बढ्नेसमेत बताए ।

अनुगमन टोलीमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, पत्रकारलगायत विभिन्न संघसंस्थाको प्रतिनिधिहरु समेत सहभागी रहेका थिए । सडक प्रदेश नम्वर १ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १८ करोड ७५ लाख ८४ हजार ८६ रुपैया“ ६४ पैसा लागतमा निर्माण कार्य सुरु भएको हो । 

हाल ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमा सम्पन्न हुन नसक्दा यी योजना अलपत्र परेका हुन् ।

View : 58

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved