Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

दक्ष जनशक्तिको अभाव मुख्य चुनौती

कोशी प्रदेशमा पहिलोपटकअन्तर्राष्ट्रिय प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स दिवस मनाइयो

उद्‌घोष संवाददाता
१९ कार्तिक २०८२, बुधवार

Advertisement

विराटनगर ।  अन्तर्राष्ट्रिय प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स दिवस पहिलो पटक कोशी प्रदेशमा सामुदायिक पुनर्स्थापना केन्द्र (सीबीआर), विराटनगरमा मनाइएको छ । कार्यक्रमको मुख्य उद्देश्य प्रोस्थेटिक्स (कृत्रिम अंग)  र अर्थोटिक्स (सहायक उपकरण) को विषयमा जनचेतना बढाउनु र नेपालमा यस क्षेत्रका प्राविधिकहरूको संख्या वृद्धि गर्न आवश्यक पर्ने कदम चर्चा गर्नु रहेको थियो ।

कार्यक्रममा सीबीआर विराटनगरका निर्देशक समिति संयोजक डा भेषप्रसाद धमला, सीबीआरकी अध्यक्ष  शोभा पोखरेल, पुनर्स्थापनामा सेवा प्रदायकहरूको राष्ट्रिय सङ्घ, नेपालका महासचिव नवीन दाहाल,  फेयरमेड फाउन्डेसन नेपालकी प्रतिनिधि शोभा गुरूङ, योगमाया प्रतिष्ठान विराटनगरकी अध्यक्ष कवियत्री कविता चापागाईं, शाकम्बरी संस्थाकी निर्मला रेग्मी भट्टराई,  सेवाग्राही रिता भट्टराई र अशोक शर्मा, लगायतका विशिष्ट व्यक्तिहरूले शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै  डा भेषप्रसाद धमलाले २०४७ सालमा विराटनगरमा सीबीआरको स्थापना भएको जानकारी दिंदै यसको स्थापनामा शान्ता पोखरेल, देवकुमारी थापा, बेलायती नागरिक प्रू च्याल्कर र आफ्नो संयुक्त छलफल र प्रयासको भूमिका रहेको बताए । उनले सीबीआरको पहिलो संयोजक प्रू च्याल्कर नै भएको र उनकै नेतृत्वमा विराटनगरमा अपाङ्गतासम्बन्धी कार्य सुरुवात भएको पनि जनाए ।

सो अवसरमा सीबीआर विराटनगरले प्रस्तुत गरेको तथ्याङ्कले कोशी प्रदेशमा प्रोस्थेटिक्स र अर्थोटिक्सका प्राविधिकहरूको गम्भीर अभाव रहेको देखाएको छ । हाल सीबीआर विराटनगरमा मात्र दुई जना प्राविधिक अम्बिका शर्मा र धीरजकुमार यादव र दुई जना सहायक प्राविधिक अशोक शर्मा र हरि भूजेल कार्यरत छन् ।

सम्पूर्ण कोशी प्रदेशभरि यस्ता प्राविधिकहरूको कुल संख्या पाँच मात्र रहेको प्रोस्थेटिस्ट तथा अर्थोटिस्ट अम्बिका शर्माले बताइन्  । उनका अनुसार धरानका अमनकुमार श्रेष्ठ, विराटनगर सरौचियाका जाहिद हुसेन र इटहरी स्थित अपाङ्ग बाल अस्पतालकी सरिता शर्मा सो क्षेत्रका  अन्य प्राविधिक हुन् ।


कार्यक्रममा सो क्षेत्रमा सेवा पु-याउन प्रशिक्षित प्राविधिकहरूको धेरै नै थोरै संख्याले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक पर्ने सेवा प्राप्त गर्न ढिलाइ र अवरोध भएको बताइयो । प्रोस्थेटिक्स र अर्थोटिक्स सेवालाई प्रभावकारी बनाउन, प्राविधिक शक्ति बढाउन र देशभरिका अपाङ्गता भएकाहरूको जीवनस्तरमा सुधार ल्याउन यो दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । यसले यस्ता सेवाको आवश्यकता र यसको विस्तारको महत्त्वप्रति सरकार र सम्बन्धित निकायको ध्यान आकर्षित हुनुपर्ने वक्ताहरुको जोड थियो ।

View : 1120

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved